कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई प्रगति देखिने गरी काम गर्न एक महिनाको समय दिइएको छ ।

काम सक्नुपर्ने अवधि सकिएर पटकपटक म्याद थप गर्दा कामको प्रगति नदेखिएपछि अन्तिम चेतावनीका रुपमा एक महिनाको समय दिइएको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको  छ ।

सडक निर्माणमा भएको ढिलासुस्तीका विषयमा जानकारी लिन दुई हप्ताअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अवलोकन गरेका थिए । त्यस क्रममा उनले एक हप्ताभित्र समस्या समाधान गरेर सडक निर्माणलाई गति दिने आश्वासन दिएको भए पनि सडक निर्माणले गति लिन भने सकेको छैन ।

मन्त्री ज्वालाको निर्देशनपछि आयोजना कार्यालयले ठेकेदार कम्पनीका प्रतिनिधिसँग छलफल गरेको छ । छलफलका क्रममा एक साताभित्र मजदुर र उपकरण थप गरेर निर्माणलाई तीव्रता दिने सहमति भएको आयोजनाका इञ्जिनियर अच्युत विलास पन्तले जानकारी दिए ।