प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाण्डूको उत्तरी क्षेत्रमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना भएको विषयमा थप मानिसहरूमाथि पनि अनुसन्धान हुनसक्ने जनाएको छ।

हालसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धानका क्रममा संलग्न देखिएका व्यक्तिहरूलाई तत्काल पक्राउ गरिएको र थप व्यक्तिहरूमाथि पनि अनुसन्धान भइरहेको बताएको छ।

“तत्कालीन अवस्थामा जग्गा दिने निर्णय गर्ने बाँसबारी छाला जुत्ता कारखानाका अध्यक्ष र जग्गा लिएका मानिसहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ,” अनुसन्धानको नेतृत्व गरेका सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले भने।

“यो जग्गा लिने/खाने नियतका साथ अनुसन्धानबाट देखियो पुष्टि भयो भने थप मानिसहरू पक्राउ र अनुसन्धानको दायरामा हुनेछन्।”

प्रहरीले पक्राउ गरेकामध्ये एक जना नेपालको ठूलो व्यावसायिक घरानाले सञ्चालन गरेको सीजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी हुन्।

चौधरी समूहले यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन। तर उद्योगी तथा व्यापारीका सङ्गठनका पदाधिकारीहरूले उनी लगायतका व्यक्तिहरूको पक्राउलाई लिएर आपत्ति जनाएका छन्।

शुक्रवार नेपाली कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसद समेत रहेका अरुणका दाइ विनोद चौधरीले आफ्ना भाइलाई पक्राउ गरिएकोबारे ध्यानाकर्षण गराएको बैठकपछि कांग्रेस सांसदहरूले बताएका छन्।

“खासगरेर अरुण चौधरीजीलाई पक्राउ गरेको विषयमा उहाँले संसदीय दलको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले भन्नुभएको कुरालाई नेता र माननीय सदस्यहरूले गम्भीरतापूर्वक सुन्नुभएको छ,” कांग्रेस मुख्य सचेतक रमेश लेखकले बैठकपछि पत्रकारहरूसँग भने।

पक्राउ गरिएका तीनै जनालाई किर्ते र ठगीको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।