नेपालकै सबैभन्दा ठूलो निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको शेअर बिक्रीबारे प्रश्न उठेपछि सरकारले गठन गरेको छानबिन समितिले यथास्थितिमा शेअर खरिदबिक्रीको सम्झौता स्वीकार नगर्न सिफारिस गरेको समितिका संयोजकले बताएका छन्।

नेपालको नियामक निकायको स्वीकृति नलिई शेअर बिक्रीको सम्झौता भएको जानकारी सार्वजनिक भएपछि सरकारले मङ्सिर २१ गते पूर्व महालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमवार साँझ बुझाइएको प्रतिवेदनबारे शर्माले भने, “खरिदकर्ताको विश्लेषण गर्दा प्राविधिक वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टि हुने कागजात पेस नगरेको देखिँदा यो खरिदबिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त नहुने देखिन्छ।”