भरत महर्जनको समूहले ३७ हजारभन्दा बढी सर्वसाधारण बचतकर्ताको रकम संकलन गरी खडा गरेर दुरुपयोग गरेको सुमेरु ग्रुपको सम्पत्तिमा अहिले अन्य ठूला सहकारी ठगीमा संलग्न तीन समूहले लुछाचुँडी गरिरहेको पाइएको छ ।

जनताको पैसाले खडा भएको १५ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति हत्याउन सोही सहकारीका तत्कालीन अध्यक्ष भरत महर्जन र वर्तमान अध्यक्ष हेमराज दाहालको समूह, देउराली सहकारी सञ्चालक रविन्द्र चौलागाईंको समूह र गतिशील सहकारी सञ्चालक तथा राष्ट्रिय वाणिज्य बैंकका पूर्वअध्यक्ष डा. बलराम पाठक समूहबीच लुछाचुँडी चलिरहेको पाइएको हो ।

जनताको १० अर्ब रुपैयाँभन्दा बढी बचत फिर्ता नगरी सुमेरु सहकारीका सञ्चालक भरत महर्जन बेलायत पलायन भइसकेका छन् ।

सुमेरु ग्रुपअन्तर्गत सुमेरु अस्पताल धापाखेल, सुमेरु सिटी अस्पताल पुल्चोक, एशियन कलेज, शंखरापुर एकेडेमी, सुमेरु हाउजिङ एन्ड डेभलपर्स, सुमेरु मेडिकल कलेज, सुमेरु ग्रुप अफ अर्गनाइजेसन, सुमेरु एग्रो, सुमेरु वृद्धाश्रमलगायत डेढ दर्जन कम्पनी सञ्चालनमा छन् ।