दिल्लीकी १५ वर्षीया रियाको गर्दन, काखी र ‌औँलाको कापको छालामा पिगमेन्टेशन अर्थात् गहिरो रङ्गको दाग देखिएर समस्या भइरहेको थियो।

छालाका डाक्टरले उनलाई एन्डोक्रिनलजिस्टकहाँ पठाइदिए।

जाँच गर्दा रियाको भोको पेटमा उनको ब्लड सुगर ११५ र खाना खाएपछि १८० पाइयो।

डाक्टरहरूका अनुसार भोको पेटको ब्लड सुगर १०० र खाना खाएपछिको ब्लड सुगर १४० सम्म सामान्य मानिन्छ।

रियाको उपचार गरिरहेका डा. सुरेन्द्रकुमार भन्छन्, “रिया जङ्क फूड खान्थिन् र उनको परिवारमा मधुमेह भएको इतिहास थियो। उनी कसरत पनि गर्ने गरेकी थिइनन्। यदि बुवाआमालाई मधुमेह छ भने छोराछोरीलाई पनि मधुमेह हुने खतरा ५० प्रतिशत हुन्छ।”

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयस्थित पीडिएट्रिक एन्डोक्रिनलजिस्ट तथा ‘सुगर, द बिटर ट्रूथ’ पुस्तकका लेखक डा. रोबर्ट लस्टिगका अनुसार वयस्कहरूलाई हुने मधुमेह अब बालबालिकामा देखिन थालेको छ।