अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले फिफा बेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन्।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा सोमबार आयोजित कार्यक्रममा पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन्।

अमेरिकी क्लब इन्टर मायमीका फरवार्ड मेसीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारे। पेरिस सेन्ट जर्मेन पिएसजनीका फ्रेञ्च फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।

सिटीका इडरसनले रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनौलाई पछि पार्दै गोलकिपर अवार्ड जिते।

सिटीले २०२२-२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेर ट्रेबल गरेको थियो।

३६ वर्षीय मेसीले जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मायमीमा जानुअघि पेरिस सेन्ट जर्मेनबाट २०२३ का सुरुवाती खेल खेलेका थिए।

‍मेसीले तेस्रो पटक फिफा द वेस्टमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्। मेसीले २०१६ र २०२२ मा पनि अवार्ड जितेका थिए।

उनले पिएसजीका लागि नौ गोल गर्दै फ्रेन्च लिग १ उपाधि जितेका थिए र इन्टर मायमीले अमेरिकामा लिग कप जित्दा सात खेलमा १० गोल गरेका थिए।

हालान्डले गत सिजन प्रिमियर लिगमा कीर्तिमानी ३६ गोल गरेका थिए। २०२२-२३ का सबै प्रतियोगितामा उनले कीर्तिमानी ५२ गोल गरेका थिए। जसमध्ये २८ गोल विश्व कप पछि आएका थिए।

२५ वर्षीय एमबाप्पेले क्लबका २०२२-२३ मा १८ गोल गरेका थिए।

राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र फिफाको वेबसाइटमा प्रशंसकबाट प्राप्त भोटको आधारमा विजेता घोषणा गरिएको हो। प्रत्येक क्षेत्रका लागि २५ प्रतिशत भोट मानिएको थियो।

‍मेसीले फुटबलको अर्को प्रतिष्ठित अवार्ड बालन डि’अर कीर्तिमानी आठ पटक जितिसकेका छन्।

टिम अफ दि इयरमा इंग्लिस क्लब सिटीका खेलाडीहरुले बर्चश्व जमाएका छन्।