गत साता उच्चस्तरीय भ्रमणका लागि नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालका क्रिकेट खेलाडीहरूलाई भारतीय क्रिकेट मैदान ‘होम ग्राउन्ड’ अर्थात् घरेलु मैदानका रूपमा उपलब्ध गराउने जानकारी दिएर गएको कप्तान रोहित पौडेलले बताएका छन्।

एस जयशङ्करले आफ्नै पहलमा नेपाली क्रिकेट टोलीसँग भेटेको बताइएको छ।

भेटघाटलाई उनले दिएको महत्त्व त्यसबेला उनी आफैले सार्वजनिक गरेको तस्बिरमा पनि झल्किन्छ। जसमा उनी प्रसन्न मुद्रामा देखिन्छन्।

कप्तान रोहित भन्छन्, “उहाँसँग भेट्दा एकदम खुशी महसुस भयो किनभने उहाँहरूले आफै हामीलाई बोलाउनुभयो। हामीसँग भेट्दा उहाँ एकदमै खुशी हुनुहुन्थ्यो। विश्वकपमा छानिएकोमा बधाई दिनुभयो। र अब आउने दिनहरूमा बीसीसीआईबाट के सहयोग गर्न सकिन्छ? भन्ने कुरा गर्नुभयो।”