एक बलीवुड अभिनेत्री क्यामरातिर फर्किएर अश्लील हाउभाउ देखाइरहेकी छन् भने अर्की अभिनेत्री लगभग निर्वस्त्रजस्तै छिन्।

तर खासमा यी दुवै दृश्य वास्तविक हैनन्।

केही सातादेखि एकपछि अर्को गर्दै डीपफेक भिडिओ भाइरल भएका छन्। तिनमा नाम चलेका अभिनेत्रीको जस्तै अनुहार देखाइएको छ।

रश्मिका मन्दाना, प्रियङ्का चोपडा जोनस र आलिया भट्ट त्यस्ता आपत्तिजनक भिडिओको निसानामा परेका केही कलाकार हुन्।

ती भिडिओमा अरू कसैको अनुहार र आवाज हटाएर उनीहरूको अनुहार र आवाज दुरुस्त देखिने गरी राखिएको हुन्छ। प्रायः सामाजिक सञ्जालबाट तस्बिरहरू निकालेर अनुमति बिना नै प्रयोग गरिन्छ।