नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यकर्ताहरूलाई आत्मनिन्दा नगर्न आग्रह गरेका छन्।

कांग्रेस सकियो, देश बरबाद भयो भन्दै आत्मनिन्दा नगर्न उनले आग्रह गरेका हुन्।

‘कांग्रेस सकियो, देश बरबाद भयो, डुब्यो, सकियो भन्ने होइन,’ पर्वत कांग्रेस प्रदेश सभा क्षेत्र (क) को क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘केही पनि भएको छैन हामी छौं, हामी सम्हाल्छौं। सरकारमा हामी छौं, जिम्मेवारी हामीले लिएका छौं। संविधान बनाएका छौं।’

अर्थतन्त्र केही बिग्रेको भए पनि पछिल्ला दिनमा सम्हालिन थालेको थापाले बताए।

‘बिस्तारै सबै कुरा हामी सम्हाल्छौं, आत्मनिन्दा र आत्मप्रशंसा गर्ने होइन,’ थापाले भने, ‘हाम्रै मतदाता रिसाएका छन्, केही कुरा बिग्रेको छ। युवाहरूको विश्वास डगमगाएको छ। नौजवानलाई आत्मविश्वास र भर दिनुपरेको छ।’

उनले नेताहरूले खल्तीबाट समानुपातिक सांसद बनाउँदा ‘सांसदहरूका अनुहार देखेर पनि मानिसहरू रिसाएको’ बताए।

‘हाम्रो निर्णयहरू देखेर पनि मानिसहरू रिसाएका छन्,’ थापाले भने, ‘मानिसहरूका असन्तुष्टिलाई सम्बोधन गर्ने हो। आत्मनिन्दा होइन, आत्मप्रशंसा पनि होइन हामीले समीक्षा गर्ने हो, बिग्रेका कुरा सच्याउने हो।’

अहिलेका सभापति शेरबहादुर देउवालाई मात्र दोषको भारी बोकाएर समस्या समाधान नहुने उनले बताए। ‘कांग्रेस पार्टी सञ्चालन गर्ने पद्दती बदल्ने कुरा हो,’ उनले भने, ‘प्रदेश, जिल्ला सम्मेलन र प्रदेश सम्मेलन गर्दै हामी महासमिति बैठक गर्छौं।’

उनले पुस १६ देखि माघ १६ सम्म ‘समुदायमा कांग्रेस’ अभियान गरिने उनले बताए।

‘महासमिति बैठकबाट पार्टीमा केही सुधार गर्छौं। भ्रष्टाचारमुक्त नेपालको सङ्कल्प कांग्रेसले महासमिति बैठकबाट गर्छ,’ उनले भने, ‘पार्टीकामार्फत् देश पनि बिस्तारै ठिक ढंगबाट अघि बढाउने आत्मविश्वास कांग्रेसले राख्नुपर्छ।’