बेइजिङ : चीनले अमेरिकालाई हुआवे र चिनियाँ उद्यममाथि दबाब नदिन आग्रह गरेको छ ।

अमेरिकाले प्रविधिको क्षेत्रमा हुआवेको पहुँचमा प्रतिबन्ध लाग्ने गरी निर्यातमा नयाँ नियन्त्रण घोषणा गरेपछि चीनले यस्तो आग्रह गरेको हो । ‘हामी अमेरिकी पक्षलाई हुआवे र चिनियाँ उद्यममाथिको अनुचित दबाब तत्काल रोक्न आग्रह गर्छौँ,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।

यस्तै ट्रम्प प्रशासनको गतिविधिले विश्वव्यापी निर्माण तथा वितरण र मुल्यको श्रृंखलालाई ध्वस्त पार्ने चिनियाँ विदेश मन्त्रालयको भनाइ छ । अमेरिकी अधिकारीहरुले भने चिनियाँ प्रविधि कम्पनीमाथि अमेरिकी व्यापार गोपनीयता चोरेको आरोप बारम्बार लगाउँदै आएका छन् । साथै चिनियाँ जासूसी प्रयासलाई सघाएको आरोप अमेरिकी अधिकारीहरुको छ ।

अमेरिकाले लगाएको नयाँ प्रतिबन्ध अनुसार प्रमुख आपूर्तिकर्तामध्ये एक ताइवानी ‘चिपमेकर’ आपूर्तिकर्तासँग हुआवेको पहुँच कटौती गर्नेछ । ताइवानी उक्त कम्पनीले एप्पल र अन्य ‘टेक’ कम्पनीका लागि पनि चिप उत्पादन गर्छ ।

अमेरिकाले गत वर्ष हुआवेमाथि अमेरिका निर्मित प्रविधिको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर चीनले यसविरुद्ध चेतावनी दिएको थियो । यससँगै चीन र अमेरिकाबीच व्यापारयुद्ध थप तनाबमय बन्ने टिप्पणी हुन थालेको छ ।