दुर्गमका बस्तीहरूलाई लक्षित गरेर नेपाल विद्युत् प्राधिकरणले समुदायको सहकार्यमा सुरु गरेको सामुदायिक विद्युत् वितरण कार्यक्रम लागु भएका स्थानमा चुहावटको समस्या लगभग पूर्ण रूपमा अन्त्य भएको अधिकारीहरूले बताएका छन्।
विद्युत् प्राधिकरणका अनुसार हाल नेपालमा झन्डै तीन सय सामुदायिक सङ्घसंस्थाले बिजुली भाडामा लिएर पाँच लाखजति ग्राहकलाई वितरण गर्दै आएका छन्।
सामुदायिक ग्रामीण विद्युतीकरण विभागका निर्देशक त्रिपेश्वर पुर्वेले यस्तो कार्यक्रममा विद्युत् चुहावटको समस्या कतै नदेखिएको बताउँछन्।
उनी भन्छन्, “चोरी वा चुहावट भएमा त्यसबापत सबै शुल्क उपभोक्ता समितिको जिम्मामा पर्ने हुँदा चोरी चुहावट हुने सम्भावना नै हुँदैन भन्दा पनि हुन्छ।”
हाल देशभरि ग्रामीण सामुदायिक विद्युतीकरणका करिब पाँच लाख उपभोक्ता रहेको बताइन्छ।