नेपालगञ्ज नेपालको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित छ ।
पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिन प्रतिदिन बढ्दो तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको छ ।
आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रुपमा विकास गरिने अभियानको उद्देश्य छ । “सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरका टोलटोलका सडक किनारमा रुख रोप्न थालेका छाैँ,” नगर प्रमुख डा धवलशम्शेर राणा भन्नुहुन्छ ।
नगरलाई हरियाली बनाउन थुप्रै चुनौती छन् । अधिकांश साँघुरा बस्तीमा रुख रोप्ने ठाउँ बाँकी नराखी बनाइएका सडक र नालाका कारण अभियानले सोचेजस्तो परिणाम दिन सक्ला जस्तो देखिँदैन । “त्यसको कुनै विकल्प खोज्छौँ, ठूलो रुखको सट्टा ससाना बोटबिरुवा त्यस्ता बस्तीमा लगाइने छ”- नगर प्रमुख राणाको कथन छ ।
शुरुवाती चरणमा नेपालगञ्ज सुर्खेत सडकखण्डको राझादेखि जमुनहासम्म रुख रोप्न थालिएको छ । नगरपालिकालाई नेपालगञ्ज उद्योग वाणिज्य संघ, ग्रिन नेपाल क्लिन नेपाल, बीगु्रपलगायतका संस्थाले सघाएका छन् ।