निर्माण व्यवसायीको चरम लापरबाहीका कारण पश्चिम नवलरासीको परासी-नारायणचोक हुलाकी सडक दुई सातादेखि अवरुद्ध छ । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको बेहाल अवस्थाले पैदल यात्रुसमेत बारम्बार सास्ती खेप्न बाध्य छन् ।

सडक निर्माणका लागि ठाउँठाउँमा खसालेको माटो व्यवस्थित नगर्दा पानी पर्नासाथ सडक हिलाम्मे हुने गरेको छ । अधिकांश स्थानमा रहेका खाल्डाखुल्टीसमेत पुरिएका छैनन् । सडक निर्माणको काम सुरु गरे पनि निर्माण कम्पनीले समयमा काम नगर्दा अहिले सो सडकखण्डमा चल्ने सवारी साधन चल्न सकेका छैनन् ।

सडकमा ग्राभेल (मिस्कट) नराख्दा हिलो र खाल्डाखुल्टीका कारण सवारीसाधन चल्न नसकेका हुन् । सडक अवरुद्ध हुँदा परासी-जहदादेखि गोपीगञ्ज पुग्ने सवारीसाधन भूमही–बर्दघाट हुँदै २५ किलोमिटरको दूरी पार गरेर जानुपर्ने बाध्यता छ । परासीबाट नारायणचोकको दुरी साढे १२ किलोमिटर छ ।