शिक्षा विकास तथा समन्वय इकाई काभ्रेले जिल्लामा सातजना विद्यार्थी भर्ना हुनबाट छुटेको भन्ने गलत तथ्यांक दिएको खुलेको छ। राज्यको लाखौं रुपैयाँ भर्ना अभियानमा सकिएको भए पनि अझै थुप्रै बालबालिका विद्यालयभन्दा बाहिर रहेको पाइएको हो।

इकाईले जिल्लाको विकट महाभारत गाउँपालिकामा पाँच र रोशी गाउँपालिकामा दुई बालबालिकामात्र विद्यालय भर्ना हुन छुटेको तथ्यांक दिएको हो। जिल्लाका १३ वटै स्थानीय तहका जनप्रतिनिधिले शिक्षा विकास तथा समन्वय इकाईले राम्रो काम देखाउनमात्र नाटक मञ्चन गरेको आरोप लगाएका हुन्।

शिक्षा विकास तथा समन्वय इकाईले खानीखोला गाउँपालिकामा सबै विद्यार्थी भर्ना भएको देखाएको छ। गाउँपालिका प्रमुख कृष्णबहादुर खुलालले अझै ३० भन्दा बढी बालबालिका विद्यालयबाहिर रहेको बताएका हुन्।

‘अझै बालबालिका विद्यालय बाहिर रहेको पाएको छु, मैले सम्बन्धित विद्यालयका प्रधानाध्यापकहहरुलाई ती बालबालिका विद्यालयमा चाँडो ल्याउन निर्देशन दिइसकें’, उनले तथ्यांक कसरी जिल्लामा गएको आफूलाई थाहा नभएको बताए।