भारतको राजधानी दिल्लीलाई ट्रान्जिट बनाएर मानवतस्करले कयौँ नेपाली युवतीहरूलाई विभिन्न मुलुकमा बेच्ने गरेको तथ्य सार्वजनिक भएको छ। दिल्लीमा महिलाहरूका लागि काम गर्ने सरकारी निकाय ‘महिलाहरूका लागि दिल्ली आयोग (दिल्ली कमिसन फर वुमन)’ ले मानवतस्करीको जालो फर्दाफास गरेको छ जहाँ सबैभन्दा बढी नेपाली युवतीहरू वेश्यावृत्तिका लागि बेचिने गरेको भेटिएको छ।

दिल्ली कमिसन फर वुमनकी अध्यक्ष स्वाति मालीवालको नेतृत्वमा प्रहरीले एक सातादेखि भारतका विभिन्न स्थानमा छापा मारेको थियो। पछिल्लोपटक मंगलबार राति दिल्लीको पहाडगञ्जस्थित एक होटलमा छापा मारी ३९ नेपाली युवतीको उद्दार गरिएको छ। हृदय इन होटलबाट खाडी मुलुक तथा श्रीलंकामा बेच्न लगिएका ३९ नेपाली युवतीहरूको उद्दार गरिएको हो।

मंगलबार राति १ बजेदेखि बिहान ६ बजेसम्म छापा मारिएको थियो। पहाडगञ्जको उक्त होटल नेपालीहरूलाई मात्र राख्न प्रयोग भएको भेटिएको छ। यसअघिका दुई रेस्क्यु अपरेसनमा ३५ नेपाली युवतीहरूको उद्दार गरिएको थियो।