उत्तर कोरियाले आफ्ना नेता किम जोङ अन एक शिखर वार्तामा भाग लिन मस्को जानका लागि सहमत भएको जनाएको छ।
रुसी विदेश मन्त्री सर्गेइ लाभ्रोभले उत्तर कोरियाको भ्रमण गरेलगत्तै त्यस्तो घोषणा भएको हो।
प्योङयाङमा लाभ्रोभलाई भेटेपछि नेता किमले यसै वर्षको अन्त्यसम्ममा मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्ने जानकारी दिएका हुन्।
उत्तर कोरियाली समाचार संस्थाका अनुसार लाभ्रोभसँगको भेटमा नेता किमले परमाणु अस्त्र निश्शस्त्रीकरण प्रतिको आफ्नो प्रतिबद्धता नबदलिएको बताएका थिए।