किशोरी अवस्थामा समस्या धेरै प्रकारका हुन्छन्। किशोर अवस्था महिलाका लागि संवेदनशील समय पनि हो। यो बेला शारीरिक र मानसिक सबै खाले परिवर्तन हुन्छ। यो अवस्थामा शरीरका बिभिन्न अंगमा समेत परिवर्तन आउँछ। शरीरमा जुन खालका परिवर्तन आउँछन् त्यसले थुप्रै खालका समस्याहरु समेत निम्त्याउने गर्दछ।
शारीरिक समस्या
महिनावारी हुने बेलामा धेरै पेट दुख्नेगर्छ। महिनावारी बारे आवश्यक ज्ञान नहुँदा किशोरीले असजिलो महसुस गर्नुका साथै अफ्ठेरो अवस्थाको समेत सामना गर्नुपरेको हुन्छ। प्रायःकिशोरीहरुमा १३–१४ वर्षदेखि १७–१८ वर्ष सम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइँदैन। महिनावारीको समयमा कहिले– कसैलाई धेरै रक्तश्राव भइरहेको हुन्छ भने कसैलाई कम रक्तश्राव हुने गर्छ। तर, यो सामान्य प्रक्रिया हो। झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ।
सुरुमा महिनावारी हुने बेलामा किशोरी अवस्थामा डिम्बाशयदेखि मष्तिस्कसम्मको पहुँच पूर्णरूपमा विकास भएको हुँदैन। त्यसले गर्दा महिनावारीका बेला विभिन्न समस्या आउने गर्छ।
कतिपय आमाहरूले आफ्ना छोरी लिएर आउनुहुन्छ चार महिना भयो महिनावारी भएको छैन अनि कतिपय आउनुहुन्छ एक महिनादेखि रक्तश्राव भइरहेको छ भनेर। यदी महिनावारी लामो समयसम्म भएन अथवा लगातार पाँच दिनभन्दा बढी रक्तश्राव भयो भने त्यस्तो अवस्थामा स्वास्थ्य परीक्षण गर्न जरूरी हुन्छ।
यस्तो बेलामा थाइराइडको समस्या छ कि छैन भनेर आवश्यक परीक्षण गराउनुपर्दछ। कुनै किशोरी धेरै रक्तश्राव भयो भनेर आउँछन् त्यस्तो बेलामा उनीहरुको हेमोग्लोबिन अर्थात शरीरमा रगतको मात्रा कम भइसकेको हुन्छ। यस्तो हुनुको कारण उनीहरूसँग यसको आवश्यक ज्ञान र बुझाई कमजोर भएर नै हो। य
दि ४–५ दिन भन्दा बढी समयदेखि लगातार रक्तश्राव भइरहेको छ, दैनिक ३–४ वटा भन्दा बढी प्याड प्रयोग गर्नु परेको छ र आफ्नो नियमित काममा समस्या भएको छ भने यस्तो बेलामा तुरुन्तै बिशेषज्ञ चिकित्सक कहाँ पुगेर स्वास्थ्य परीक्षण गराई आवश्यक परामर्श लिनु जरूरी हुन्छ।
कतिपय ग्रामीण भेग र स्वास्थ्य सेवामा सहजै पहुँच नभएको ठाँउमा बिशेषज्ञ चिकित्सक नभए पनि उपलव्ध स्वास्थ्यकर्मीसँग आफ्नो समस्याबारे परामर्श गरी स्वास्थ्य परीक्षण गराउन सकिन्छ।
किशोरी अवस्थामा महिनावारीका बेला धेरै रक्तश्राव हुने समस्याबारे पर्याप्त ध्यान नदिए शरीरमा हेमोग्लोबीनको मात्रा कम भई समग्र शारीरिक तथा मानसिक विकासमा समेत असर पर्छ। यसले गर्दा दिर्घकालमा विभिन्न स्वास्थ्य समस्यासमेत निम्तिन सक्ने जोखिम हुन्छ।
महिनावारीको बेला पेट दुख्दैमा आत्तिहाल्नु पर्देन।
महिनावारी भएको बेलामा पेट दुख्नु सामान्य लक्षण हो। यस्तो बेलामा किशोरीहरू धेरै पेट दुख्ने समस्या लिएर आउने गरेका छन्। किशोरी अवस्थामा महिनावारी हुँदा पेट दुख्नु नराम्रो लक्षण होइन। डिम्बाशयमा अण्डा बनेर फुट्ने क्रम चलिरहेको कारणले गर्दा पेट दुख्छ। जुन महिनामा अण्डा बन्ने र फुट्ने प्रक्रिया सुरु हुन्छ त्यो महिनामा बढी पेट दुख्ने गर्छ।
यसले किशोरीलाई एकदमै धेरै पीडा दिन्छ तर यो राम्रो संकेत हो। जुन किशोरीलाई महिनावारीको समयमा पीडा हुन्छ त्यस्ता किशोरीको प्रजनन क्षमता राम्रो हुन्छ, त्यसैले महिनावारीमा पेट दुख्नुलाई नराम्रो मान्नु हुँदैन। अण्डा बन्ने र फुट्ने प्रक्रिया नहुने महिलालाई महिनावारीको समयमा पीडा हुँदैन र महिनावारी समेत नियमित हुँदैन। त्यस्ता महिलाको दिर्घकालमा प्रजनन क्षमता त्यति सुखद् भएको पाइदैन।
त्यसका लागि बेलेमै बिशेष चिकित्सकसँग आवश्यक परामर्श र स्वास्थ्य परीक्षण गराएर भविष्यमा निम्तिन सक्ने जोखिमलाई हटाउन सकिन्छ। जुन महिलाहरूमा शुरुका दिनमा महिनावारीका बेला पेट नदुख्ने तर पछि पेट दुख्ने समस्या भयो र रक्तश्राव बढी हुन थाल्यो भने त्यो रोगको लक्षण हो। त्यस्तो अवस्थामा तुरुन्तै बिशेषज्ञ चिकित्सकसँग परीक्षण गराउनुपर्छ।
मोटोपना र दुप्लोपना दुवै समस्या
धेरै मोटोपना र दुव्लोपनाका कारणले पनि महिनावारी नियमित नहुने समस्या हुन्छ। यस्ता समस्या भए तुरुन्तै स्वास्थ्य परीक्षण गराउनुपर्दछ। हिजो आज यस्तो समस्या सामान्य भइसकेको छ। खास गरि अस्वस्थकर खानपान, नियमित व्यामको कमी, निस्कृय जीवनशैली जस्ता कारणले पनि किशोरीहरुमा मोटोपनाको समस्या बढेको पाइन्छ। शरीरका लागि धेरै मोटोपना र दुव्लोपना हुँदा महिनावारीका बेलामा समस्या हुन सक्छ। यस्तो अवस्थामा थाइराइड र रगतको जाँचका साथै भिडियो एक्सरे गरी आफ्नो स्वास्थ्य अवस्थावारे जानकारी लिनु आवश्यक हुन्छ।
सरसफाइको अभाव
खास गरि महिनावारीका समयमा किशोरीहरुले आफ्नो सरसफाइमा बिशेष ध्यान नदिदा विभिन्न समस्याहरु निम्तिने गर्छ। महिनावारीको समयमा गुणस्तरयुक्त सेनेटरी प्याड प्रयोग गर्नु अनिवार्य मानिन्छ। तर हाम्रो आर्थिक अवस्था, सहज पहुँचको अभाव, र चेतनाको कमी, लाज मान्ने प्रवृति जस्ता कारणले कतिपय किशोरीले यस्तो अवस्थामा आफ्नो सरसफाईमा त्यति ध्यान दिएको पाइदैन।
महिनावारीका समयमा आफ्नो सरसफाईमा विशेष ध्यान नदिएकै कारण धेरै जसोमा संक्रमण भई पाठेघरसम्म फैलिने र त्यसले बाँझोपनको समेत समस्या ल्याउने खतरा हुन्छ। गाँउतिर जस्तो पायो त्यस्तै कपडा र पुरानो टालोलाई प्याडको रुपमा प्रयोग गर्ने चलन छ त्यसैले हाम्रा सम्पर्कमा आउने ग्रामीण भेगका अधिकांश महिलामा परीक्षण गर्दा पाठेघरको संक्रमण भएको हुन्छ।
जसमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, फोहर पानी बग्ने र योनी चिलाउने समस्या हुन्छ। यस्तो लक्षण देखिने बित्तिकै चिकित्सकसँग परामर्श लिएर आवश्यक चेकजाँच गराउनुपर्दछ। त्यसैले महिनावारी हुँदा आफ्नो सरसफाईमा विशेष ध्यान दिनुपर्छ। गुप्ताङ्गको सरसफाई गर्दा सकभर केमीकलयुक्त सावुन, डिटोल लगायतको प्रयोग नगर्नु राम्रो। सफा पानीले मात्र सरसफाई गर्दा राम्रो हुन्छ। यस्तो बेलामा हरेक चार घण्टामा प्याड परिवर्तन गर्नुपर्छ र सफा राख्नुपर्छ।
किशोरीको अस्थिर समय
यो समय किशोरीको लागि अस्थिर समय हो। उनीहरू शारीरिक र मानसिक रुपमा अस्थिर हुन्छन्। यो उमेरमा कतिपय किशोरीहरु केटा साथी बनाउने र शारीरिक सम्पर्क समेत गर्ने गर्छन्। आकस्मिक रुपमा गर्भवतीसमेत बन्न पुग्छन् यो समस्या उनीहरुले आफ्ना अविभावकलाई भन्न सक्दैनन्। उनीहरुले लुकाएर औषधि खान्छन्। जस्ता पायो त्यस्तै ठाँउमा पुगेर गर्भपतन गराउने प्रयास गर्दछन् त्यसले भविष्यमा निकै ठूलो दुर्घटना निम्त्याउन सक्छ। असुरक्षित गर्भपतन महिलाको स्वास्थ्यका लागि निकै ठूलो समस्या बन्न सक्छ। जहाँ पायो त्यहाँ असुक्षित गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएर महिलाको ज्यान गएका समेत घटना सुन्ने गरिएको छ।
त्यसैले यो उमेर समूहका किशोरीलाई स्वास्थ्य सम्बन्धी ज्ञान समेत दिनुपर्छ। कम्तीमा पनि अस्थायी साधनको प्रयोग गर्यो भने धेरै समस्या समाधान हुन्छ। यसले गर्दा नराम्रा रोगहरु समेत लाग्न सक्दैन र आकस्मिक रुपमा गर्भ रहने जोखिम समेत रहँदैन। सामान्यत २१ वर्षको उमेर पुरा गरेपछि उनीहरु शारीरिक सम्पर्कका लागि परिपक्व मानिन्छन्। यो उमेरभन्दा अघि किशोरीहरू एकदमै अस्थिर हुन्छन् त्यसैले अविभावकले पनि उनीहरुको विशेष ख्याल गर्नुपर्छ।
आफ्ना बच्चाहरुको व्यवहारमा परिवर्तन आयो भने त्यसको ख्याल गर्नुपर्छ। उनीहरुको संगत कस्तो छ त्यसमा समेत ध्यान दिनुपर्छ।
महिनावारीको समयमा के गर्ने ? के नगर्ने ?
कपितय मुलुकमा महिनावारीका समयमा कामकाजी महिलालाई बिदा दिने समेत चलन छ, केही विकसित मुलुकमा कतिपय कम्पनीहरुले महिनावारीका समयमा महिलालाई अनिवार्य विदा दिने गरि (पिरियड पोलिसी) समेत बनाएका छन्। त्यसैले महिनावारीको समय आराम गर्ने समय हो। यस्तो अवस्थामा सरसफाईमा अन्य बेला भन्दा बढी ध्यान दिनुपर्छ भने रक्तश्राम हुँदा कमजोर हुने भएकाले यस्तो बेला पोषणयुक्त खाना समेत खानु जरूरी हुन्छ।
हाम्रो समाजमा महिनावारीको समयमा महिलालाई बाहिर जान नदिने, घरको सामान छुन नदिने जस्ता रूढीवादी परम्परा भए पनि यसको केही सकरात्मक पक्ष पनि थिए। सामान छुन भएन, काम गर्न भएन भने उसले आराम पाउँछ। कुनै बेला अनावश्यक रुपमा शारीरिक सम्बन्धका लागि श्रीमानले दिने दबाबबाट समेत महिलाले आराम पाउँछन्।
यो समयमा पीडा बढी भयो भने स्वास्थ्य परीक्षण गर्नुपर्छ। शरीरमा रगतको मात्रा कमी हुन दिनु हुँदैन। यो समयमा शारीरिक सम्पर्क समेत गर्नुहुँदैन।
किशोर अवस्थामा महिनावारी हुँदै पीडा हुन्थेन तर, पौढ अवस्थामा पीडा हुन थाल्यो भने त्यो नराम्रो संकेत हो। यो अवस्थामा पाठेघरमा ट्यूमर भएर पनि महिनावारीका बेला बढी पीडा हुनसक्छ।
त्यस कारण समग्रमा भन्नुपर्दा अविभावकहरुले आफ्ना सन्तानका निम्न कुरामा विशेष ध्यान दिनुपर्छ।
१. घर परिवारले किशोर अवस्थामा पुगेका आफ्ना सन्तानको खानपान, शैक्षिक अवस्था र सरसफाईमा बिशेष ध्यान दिनुपर्छ।
२. कलेज जाने छोराछोरीलाई यौन शिक्षा र गर्भ निरोधक साधनहरुको ज्ञान दिनु जरुरी हुन्छ ,त्यस्तो गर्दा भविष्यमा आइपर्न सक्ने यौन सम्बन्धी रोग र आकस्मिक गर्भधारणको जोखिमबाट बच्न सकिन्छ।
३. महिनावारीको समयमा अभिवाकले आफ्नो सन्तानलाई आराम र पोषणयुक्त खानपान गराउनुका साथै साइकोलोजिकल सपोर्ट गर्नु जरुरी हुन्छ।
४. यदि कुनै पनि स्वास्थ्य समस्या देखिएमा तत्काल बिशेषज्ञ चिकित्सकसँग आवश्यक परामर्श गरि उपचार गराउनुपर्छ।