देशमा राजनीतिक वातावरणमा आएको सुधारसँगै पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको लगानी बढ्न थालेको छ । चालू आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा १९ अर्ब ५८ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा भएको लगानी वृद्धि गएको आवको सोही अवधिको तुलनामा १६ दशमलव दुई प्रतिशत बढी हो ।

गएको वर्षको वैशाखसम्म यस्तो लगानी १५ खर्ब ८० अर्ब ६८ करोड रुपैयाँमात्र थियो । एक वर्षको अवधिमा तीन खर्ब ३७ अर्ब ८८ करोडले लगानी बढेको छ । गएको वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय क्षेत्रको लगानी १६ खर्ब ८१ अर्ब ८५ करोड रुपैयाँ थियो । बैंक तथा वित्तीय क्षेत्रबाट भएको कुल लगानीमध्ये निजीक्षेत्रतर्फ प्रवाहित कर्जा वाणिज्य बैंकको १९.७ प्रतिशत र विकास बैंकहरूको दुई दशमलव पाँच प्रतिशत बढेको छ भने वित्त कम्पनीको एक दशमलव सात प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा सबैभन्दा बढी २६.१ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्रतर्फको कर्जा १८.४ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा १६.८, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १३.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रको कर्जा १२.४ प्रतिशत र कृषि कर्जा १०.८ प्रतिशतले बढेको छ ।

यस अवधिमा लगानीमध्ये ६१ प्रतिशत घरजग्गा धितोमा, १३.९ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) मा र अन्य क्षेत्रमा छ । एक वर्षको अवधिमा कृषि क्षेत्रको लगानी एक अर्ब ३२ करोड रुपैयाँले बढेर ८७ अर्ब २७ करोड पुगेको छ । गएको वर्षको वैशाखसम्म कृषि क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ७४ अर्ब दुई करोड पुगेको छ ।

कृषि क्षेत्रअन्तर्गत पशुपालनमा सबैभन्दा बढी लगानी भएको क्षेत्र हो भने सबैभन्दा कम लगानी चियाखेती तथा चिया प्रशोधन क्षेत्रमा भएको छ । चालू आवको वैशाखसम्म पशुपालनमा ३१ अर्ब ८५ करोड लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ । व्यावसायिक कृषि सेवामा ११ अर्ब ६९ करोड लगानी भएको छ भने चियामा तीन अर्ब ४८ करोड लगानी भएको छ ।

यस वर्षको १० महिनासम्म उत्पादनमूलक क्षेत्रमा विभिन्न २३ उपक्षेत्रमा तीन खर्ब ३२ अर्ब ८३ करोड लगानी भएको छ । हाल भएको लगानी गएको वर्षको सोही अवधिभन्दा ४५ अर्ब ४५ करोड बढी हो । गएको वर्षको वैशाखसम्म यस क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको कुल लगानी दुई खर्ब ८७ अर्ब ३८ करोड थियो ।

बैंक तथा वित्तीय क्षेत्रबाट भएको कुल लगानीमध्ये निजीक्षेत्रतर्फ प्रवाहित कर्जा वाणिज्य बैंकको १९.७ प्रतिशत र विकास बैंकहरूको दुई दशमलव पाँच प्रतिशत बढेको छ ।

यस क्षेत्रअन्तर्गत खाद्य प्रशोधन तथा प्याकेजिङ क्षेत्रमा सबैभन्दा बढी ६७ अर्ब ४३ करोड लगानी भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । बढी लगानीको दोस्रो स्थान सिमेन्ट उत्पादनले लिएको छ । बढ्दो लगानीका कारण अब देश छिट्टै सिमेन्टमा आत्मनिर्भर बन्दै छ । उत्पादनमूलक क्षेत्रको हातेकागज तथा अन्य काजगका क्षेत्रमा पाँच अर्ब ८६ करोड लगानी भएको छ । पूर्वाधार निर्माण क्षेत्रमा चालू आवको १० महिनासम्म दुई खर्ब १६ अर्ब ५० करोड लगानी भएको छ । गएको वर्षको यसै अवधिमा यस क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको कुल लगानी एक खर्ब ७१ अर्ब ६८ करोडमात्र थियो । गत आवकोे अन्त्यसम्म भने लगानी बढेर एक खर्ब ८२ अर्ब ८७ करोड पुगेको थियो ।

पूर्वाधार क्षेत्रका तीन उपक्षेत्र आवास, गैरआवास तथा ठूला पूवार्धार (पुल, सडक) बैंक तथा वित्तीय क्षेत्रले लगानी गर्दै आएका छन् । उपक्षेत्रमध्ये आवासमात्रै एक खर्ब ७६ अर्ब ३८ करोड लगानी भएको छ भने ठूला पूर्वाधार क्षेत्रमा १९ अर्ब ६० करोड र गैरआवासमा साढे एक अर्ब लगानी भएको छ । यस बाहेका अन्य क्षेत्रमा पनि पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको लगानी बढ्दै गएको छ ।

यसैगरी चालू आवको समीक्षा अवधिमा यातायात उपकरण, उत्पादन तथा जडानमा ३४ अर्ब ९४ करोड लगानी भएको छ । गएको वर्षको यही अवधिमा उक्त लगानी २७ अर्ब ६७ करोड थियो । गएको वर्षको असार अन्तिममा २९ अर्ब ९४ करोड रहेको लगानी चालू आवको यो अवधिसम्म पाँच अर्ब रुपैयाँ पुगेको हो।

समीक्षा अवधिमा सवारीसाधन तथा यसका पार्टपुर्जामा बैंक तथा वित्तीय क्षेत्रको २२ अर्बभन्दा बढी रकम लगानी भएको छ । एयरक्राफ्ट तथा एयर क्राफ्टको पार्टपुर्जामा साढे आठ अर्ब र तीन अर्ब ३५ करोड रुपैयाँ यातायातका अन्य पार्टस्मा लगानी भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यसैगरी यातायात सञ्चार तथा सार्वजनिक सेवामा एक खर्ब ५ अर्ब ८९ करोड लगानी भएको गरिएको छ । गएको वर्षको यस अवधिमा यस क्षेत्रमा ७६ अर्ब ५४ करोड लगानी भएको छ ।

होलसेल तथा खुद्रा बजार क्षेत्रमा चार खर्ब २६ अर्ब १३ करोड लगानी भएको छ । यो रकममध्ये लामोसमयसम्म टिकिराख्ने वस्तुमा ८९ अर्ब २३ करोड र लामो समयसम्म टिक्न नसक्ने वस्तु ६९ अर्ब ४३ करोड लगानी भएको छ । अन्य खुद्रा वस्तु व्यवसायमा एक खर्ब ७० अर्ब ५६ करोड रुपैयाँ लगानी बैंक तथा वित्तीय क्षेत्रको छ ।

साथै बैंक तथा वित्तीय संस्थाले फाइनान्स, बिमा तथा स्थिर सम्पत्तिमा एक खर्ब ६० अर्ब ५७ करोड लगानी गरेका छन् । जुन खर्च गएको आवको सोही अवधिभन्दा २५ अर्ब ५१ करोडले बढी हो । गएको वर्षको असारमसान्तसम्म उक्त लगानी एक खर्ब ३५ अर्ब रहेको थियो । त्यसरी नै बैंक तथा वित्तीय संस्थाले सेवामूलक उद्योगमा एक खर्ब ४७ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका छन् । यो लगानी गएको आवको सोही अवधिभन्दा २१ अर्ब २७ करोडले बढी हो ।