राज्य व्यवस्था ‘सफल, सक्षम र सुदृढ’ भएको उल्लेख गर्दै प्रमुख दलका नेताहरूले राष्ट्रिय जनता पार्टी नआए पनि असार १४ गते स्थानीय तहको दोस्रो चरण निर्वाचन हुने दृढता व्यक्त गरेका छन् ।
सत्ता र प्रतिपक्षले एकमतसाथ राजपालाई चुनावमा ल्याउन राजनीतिक दलसम्बन्धी ऐन र स्थानीय तह निर्वाचनमा पहिलो संशोधनसमेत गरेको तर राजपा चुनावमा सहभागी नहुनु रहस्यमय बनेको दाबीसमेत नेताहरूले गरेका छन् । असार १४ गते नै १, २, ५ र ७ प्रदेशका सबै स्थानीय तहमा एकसाथ चुनाव गर्नुपर्नेसमेत उनीहरूले बताएका छन् । प्रदेश नं. २ र ५का केही मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था गर्नुपर्ने उनीहरूको आकलन छ ।
पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री भीमबहादुर रावलले सोमबार राजपाकै मागका आधारमा संविधान जारी हुनासाथ पहिलो संशोधन गरिएको र अहिले फेरि सत्ता र प्रतिपक्षी दलले एकसाथ स्थानीय तह निर्वाचन पहिलो संशोधन र राजनीतिक दलसम्बन्धी ऐनको संशोधन गरे पनि उनीहरू चुनाव छाड्दै आन्दोलनमा जानु राम्रो नभएको बताउनुभयो । स्थानीय तह पुन:संरचना आयोगले ७१९ स्थानीय तह निर्धारण गरे पनि मधेसी मोर्चाको मागअनुसार २ नं. प्रदेशमा संख्या थपेर ७ सय ४४ बनाइएको पनि उहाँले बताउनुभयो । राजपाले समस्या समाधानमा लाग्नुभन्दा पनि बल्झाउने कार्यमा लाग्नु गलत भएकोसमेत रावलले दाबी गर्नुभयो ।