प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरू र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच आइतबार भएको वार्ता पनि बिना सहमति टुंगिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान बसेको दुई पक्षको वार्तामा राजपाले तराई मधेसमा स्थानीय तह थप्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई भ्याकेट गर्नुपर्ने र निर्वाचनको मिति फेरि सार्नुपर्ने माग राखेको थियो।

‘सर्वोच्चको आदेशलाई भ्याकेट गरेर सरकारले बढाएको संख्या लागू गर्ने, निर्वाचनको मिति सार्ने, संविधान संशोधन लगायतका माग राजपाले राखेको छ’, बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘हामीले यो तत्कालै सम्भव हुँदैन भन्यौं।’

राजपा नेता अनिल झाले सरकारसँग कुरा नमिलेकाले अाफूहरूले अब अान्दोलन गर्न बताए। उनले भने, ‘संविधान संशोधन नभइकन, जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या नबढेसम्म,मुद्दा फिर्ता नभएसम्म हामी निर्वाचनमा जादैनांै। हामी आन्दोलनका कार्यक्रम घोषणा गर्छाैं।’

उनले राजपाबिना तराई मधेसमा निर्वाचन सम्भव नभएको तर्क गर्दै आफूहरूका माग निर्वाचन चिन्ह मिलाउने,निर्वाचनको मिति सार्ने नभई एजेन्डामा रहेको बताए।

‘सरकारले अझै पनि प्रयास गर्छौं भनेको छ’, झाले भने।
बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधान संशोधन गर्न अहिले सकिदैँन भनेर प्रधानमन्त्रीले भनिसकेकाले त्यो नभई राजपा चुनावमा नजाने भए राजपाबिना नै चुनाव हुने अवस्था देखिएको बताउ।

‘स्थानीय तहको संख्या बढाउने हाम्रो हातमा रहेन। उहाँहरुका कार्यकर्तालाई झुठो मुद्धा रहेछ भने प्रकृति हेरेर फिर्ता लिन सकिन्छ,’ श्रेष्ठले भने, ‘हामीले उहाँहरूको माग पुरा गर्न नसक्ने उहाँहरू आफ्ना माग पूरा नगरी निर्वाचनमा नजाने हो भने राजपाबिना पनि निर्वाचन हुने स्थिति आउने देखियो तर अझै आशावादी हुनपर्छ।’