सिंहदरवारस्थित श्रम मन्त्रालयमा श्रम मन्त्री फर्मुल्लाह मन्सुरको सामुन्ने कुर्सीमा बसेका वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले भने, ‘श्रम मन्त्रालय बर्बाद भयो मन्त्री ज्यु। कसैले राम्रा काम गरेनन्। लेखराज भट्टबाहेक सबै मन्त्रीहरु व्यक्तिगत स्वार्थमा तल्लिन भए। ‘
ढकालले यसो भनिरहँदा मन्त्री मन्सुर मौन भएर सुनिरहेका थिए।

ढकालले थपे, मन्त्रालय नै माफियाको चंगुलमा पर्यो, वैदेशिक रोजगार विभाग र विभागको काठमाडौं कार्यालय भष्ट्राचारमा लिप्त छ। छर्लङ हुदाँ पनि कसैले कारबाही गर्न सकेको छैन। वैदेशिक रोजगार व्यवस्थित भन्दा पनि सबै मन्त्रीले भद्रगोल बनाएर गए।

संघका अध्यक्ष ढकालले यसो भनिसकेपछि मन्त्री मन्सुरले भने,’ म कसैको प्रभावमा पर्दिन, वैदेशिक रोजगारमा जाने म्यानपावर क्षेत्र व्यवस्थित बनाउँछु कामदारका हकहितलाई पनि बलियो पार्छु। कानुन भन्दा बाहिर गएर काम गर्ने कर्मचारीलाई कारबाही गर्छु।’

व्यवसायीहरुका अनुसार अहिले श्रम मन्त्रालय र मातहतका निकायमा निकै भष्ट्राचार हुन्छ। श्रम स्वीकृतिदेखि नयाँ म्यानपावरको अनुमति लिनसम्म घुस खुवाउनुपर्छ।

‘पहिला पहिला विमानस्थल, भन्सारमा सरकारी कर्मचारी लाखौं खर्च गरेर जान्थ्थे, ‘एक व्यवसायीले सेतोपाटीसँग भने ‘अहिले लाखौं रुपैयाँ खुवाएर श्रम मन्त्रालय र त्यसका माहहतका सरकारी कर्मचारी जान्छन्।’

‘श्रम मन्त्रालय र मातहतका निकायमा उनीहरु २ वटा झोला लिएर खट्छन् ‘अर्का व्यवसायीले थपे, ‘एउटा आफ्नाका लागि अर्को राजनीतिक पार्टीका नेता र हाकिमहरुका लागि।’ ‘२ वटा झोला भर्न उनीहरुले म्यानपावर व्यसायीलाई आतंकित पार्ने काम गर्छन,’ ती ब्यवसायीले भने, ‘म्यानपावर व्यवसायीले पनि उनीहरुको झोला भर्न कामदारबाट थप रकम उठाउनु पर्ने हुन्छ।’

‘श्रम मन्त्रालय र मातहतका उच्च कर्मचारीका कारण कामदारले थप आर्थिकबार व्यर्होनुपर्ने भित्रि पाटो छ, ‘ती व्यवसायीले भने। भेटमा म्यानपावर व्यवसायीहरुले भ्रि भिसा र टिकटका बारेमा पनि श्रम मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

यस विषयमा मन्त्री मन्सुरले फ्रि भिसा र टिकट किन कार्यान्वयनमा आएन, नआउनुको कारण के हो, यस विषयमा अध्ययन गरेर निर्णय लिइने बताए।

वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेको समस्याहरु सुनाए। विदेशमा कामदारहरुलाई परिरहेको समस्या पनि अवगत गराए।

अध्यक्ष ढकालले श्रम मन्त्रालयको जिम्मेबारी नयाँ मन्त्रीले पाएपछि वैदेशिक रोजगारको क्षेत्र व्यवस्थित गर्न मन्त्रीलाई सुझाव दिएको सेतोपाटीलाई बताए।
संघका महासचिव रोहन गुरुङले व्यक्तिगत स्वार्थमा परेर श्रम क्षेत्र नै भद्रगोल बनाउने नीति नल्याउन मन्त्री मन्सुरलाई सुझाव दिएको बताए।