काठमाडौं । के तपाई सडक पेटीमा हिडिरहँदा जथाभावी बाटो काट्दै हुनुहुन्छ। होसियार ! त्यसो हो भने तपाईले दुई सय रुपैया जरिवाना तिर्नुपर्ला। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि सडकमा जथाभावी बाटो काट्ने पैदलयात्रीलाई दुई सय रुपैया जरिवाना लिन थालेको छ।
बढ्दो सडक दुर्घटना र जोखिममा पैदलयात्री नै हुने गरेपछि ‘पैदलयात्रु सुरक्षा अभियान’ अन्तर्गत ट्राफिक प्रहरी महाशाखाले यस्तो कारबाही गर्न लागेको ट्राफिक महाशाखाका प्रमुख डिआइजी मिङमा लामाले बताउनुभयो।
उहाँका अनुसार वर्षेनी सडक दुर्घटनामा ४२ प्रतिशत पैदलयात्रीको मृत्यु हुँदै आएको रिपोर्ट छ। गत वर्ष एक सय ६६ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो । त्यसमध्ये ६९ जना पैदलयात्रीको मृत्यु भएको थियो। लामाका अनुसार दुर्घटना प्रतिशत हेर्दा दुई पांग्रे सवारी साधन (मोटरसाइकल÷स्कुटर) मा चढ्ने ४४ प्रतिशतको मृत्यु हुँदै आएको छ।
पैसै नबोकेकालाई के कारबाही गर्नुहुन्छ? भन्ने प्रश्नमा लामा भन्नुहुन्छ,‘ पैसै नबोकेकालाई तीन-तीन घण्टा नियन्त्रणमा लिएर आधा घण्टा प्रशिक्षण दिन्छौं।’ लामाले फुटपाथ, जेब्राक्रस र आकाशेपूलबाट बाटो काटेमा पैदलयात्रु आफैं सुरक्षित रहने बताउनुभयो।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३६ र १३७ ले विपरित कार्य गर्ने पैदलयात्रु उपर दुई सय देखि हजार रुपैंयासम्म जरिवाना गर्ने उल्लेख गरेको छ । यो अधिकार विभागसँग २०४९ देखि भएपनि कार्यान्वयनमा आएको थिएन। गत वैशाख १३ गते मात्रै यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेपछि महाशाखाले कारबाही सुरु गरेको थियो।