उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट कम दूरीमा मार हान्न सक्ने एउटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका सैन्य अधिकारीहरुले बताएका छन्।

उनीहरुका अनुसार झण्डै ४५० किलोमिटरसम्मको यात्रा पूरा गरी उक्त क्षेप्यास्त्र सी अफ जापानमा अवतरण गरेको थियो।

बीबीसी संवाददाता स्टिभ इभान्सका अनुसार उत्तर कोरियाले तीन हप्ताभित्र तेस्रो क्षेप्यास्त्र परीक्षण गरेको हो।

उत्तर कोरियाले यस वर्षभित्र प्रक्षेपण गरेको यो ९ औं क्षेप्यास्त्र भएको बताइएको छ।

उत्तेजनात्मक

पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाका राष्ट्रपति मून जेइनले राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन्।

क्षेप्यास्त्रतस्वीर कपीराइटAFP/GETTY

जापानले चाहिँ उत्तर कोरियाको निरन्तरको उत्तेजनात्मक गतिविधि सह्य नहुने चेतावनी दिएको छ।

अमेरिकी रक्षामन्त्रीले आइतबार सीबीएस टेलिभिजनसँग कुरा गर्दै उत्तर कोरियाले दक्षिण कोरिया, जापान र रुसलाई समेत खतरा उत्पन्न गराएको बताएका थिए।

उनले उत्तर कोरियाका कारण भयावह द्वन्द्व हुन सक्ने चेतावनी दिए।

खतरा

यसअघि उत्तर कोरियाप्रति नरम धारणा राख्ने नेताका रुपमा चिनिने दक्षिण कोरिया राष्ट्रपति मूनले उत्तर कोरियासँग सैनिक द्वन्द्व हुने सम्भावना उच्च रहेको खतरा औंल्याएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अरु मुलुकले साथ नदिए पनि उत्तर कोरियाली खतरासँग एक्लै जुध्न अमेरिका तयार रहेको बताउँदै आएका छन्।

उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परीक्षण र पारमाणविक कार्यक्रमलाई लिएर पछिल्लो समय कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ।

संयुक्त राष्ट्रसंघको प्रतिबन्धलाई अवज्ञा गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिएको छ।