गोरखाको स्वाँरा गाविस–९ स्थित थलाको जङ्गलभित्र ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ।

बाख्रा चराउन आइतबार दिउँसो जङ्गल पुगेका स्वाँराका विष्णु तामाङले बोराभित्र विस्फोटक पदार्थ देखेपछि प्रहरी चौकी सौरपानीमा खबर गरेपछि प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो।

प्रहरी चौकी सौरपानीका प्रहरी सहायक निरीक्षक रुकमानसिं खत्रीले भन्नुभयो – “ओडारको खोँचमा ढुङ्गाले च्यापेर राखेको अवस्थामा दुई बोरा तारसहित डेटोनेटर (बम बनाउन प्रयोग गरिने सामग्री) फेला पारेका छौँ । बरामद भएको विस्फोटक पदार्थ आज जिल्ला प्रहरी कार्यालय पठाउँछौँ।” उक्त विस्फोटक पदार्थ तत्कालीन माओवादीले द्वन्द्वकालमा लुकाएको हुनसक्ने अनुमान गरिएको छ।

स्वाँराको जङ्गलमा डेटोनेटरसहित तारहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पुष्टि गरे। तीन हजार ९०० थान इलेक्ट्रिक तार जडान गरिएको डेटोनेटर बरामद भएको प्रनाउ थापाले जानकारी दिए।

नेपाललाई बारुदी सुरुङमुक्त घोषणा भएको लामो समय भए पनि स्वाँरा क्षेत्रमा विस्फोटक पदार्थ भेटिने क्रमः रोकिएको छैन। तीन वर्षअघि स्वाँरा–८ को खरभिरको ओडारमा भेटिएको विस्फोटक पदार्थ खेलाउँदा १२ वर्षीय सचिन बराम र ११ वर्षीय ज्ञानबहादुर बराम घाइते भएका थिए। सचिनले बायाँ हातका चार औँला गुमाउनुपरेको थियो।

जङ्गलमा जथाभावी रुपमा अझै पनि तारहरु यत्रतत्र रहेको गोठालाले बताएको स्वाँराकी सलिना गुरुङको भनाइ छ। स्वाँराको जङ्गल क्षेत्रमा द्वन्द्वका बेला माओवादी बस्ने गरेकाले त्यसबेला छाडेका वा लुकाइएका विस्फोटक पदार्थ अहिले देखा पर्दै आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ। रासस