संविधान संशोधन विधेयक सदनमा अघि बढाउन दिन प्रधानमन्त्री प्रचण्डले गरेको आग्रह प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदिएका छन्।

एमालेको अवरोधका माझ सत्तापक्ष विधेयक सदनमा प्रस्तुत गराउने तयारीमा लागेको भनिएका बेला राजनीतिक विवादको दुई किनारमा देखिएका दुई प्रमुख नेता प्रचण्ड र ओलीबीच छलफल भएको हो।

छलफलमा प्रधानमन्त्रीले ओलीलाई संसद्को प्रक्रियामा सहमत गराउने प्रयास गरेका थिए।

एमाले सचिव सचिव प्रदीप ज्ञवालीले भने, “तर हाम्रो अध्यक्षकोतर्फबाट संशोधन विधेयकका कतिपय बुँदा संविधान विरोधी रहेकाले छलफल गर्न नमिल्ने कुरा राखियो, बैठक निष्कर्षमा पुग्न सकेन।”

सशक्त विरोध

सभामुखले प्रमुख दललाई आइतबारसम्म सहमति जुटाउन दिएको तीन दिन समय दिएकी थिइन्।

सत्तापक्षले संशोधन विधेयक सदनमा अघि बढाउने वचन मधेशी मोर्चालाई दिएकाले दलहरुबीच टकराव बढ्ने आशंका बढेको पाइन्छ।

विधेयक अघि बढाइएमा एमालेले अपनाउने नीतिबारे सचिव ज्ञवालीले भने, “संसद अवरोधका माझ विधेयक अघि बढाउनु असंसदीय हुन्छ। हामीले संसदीय विरोध सशक्त ढंगले हुन्छ।”

काठमाण्डूको गोप्य राखिएको स्थानमा भएको प्रचण्ड-ओली भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

श्रेष्ठमा अनुसार चुनाव, संसद अवरोध, अख्तियार प्रमुखविरुद्धको महाभियोग र संशोधन विधेयकबारे बैठकमा छलफल भएको थियो।