पर्याप्त भौतिक पूर्वाधार नहुँदा पर्यटकीय नगरी बर्दियामा अपेक्षा गरेअनुरुप पर्यटक आउन सकेका छैनन्।

जिल्लाको पर्यटकीय नगरी ठाकुरद्वारामा जानका लागि मुख्य मेरुदण्डका रुपमा रहेको ओराही नदीमा पुल छैन।

पुल नभएका कारण वर्षात्को समयमा मुख्य पूर्वपश्चिम राजमार्गसम्म पुग्न निकै सास्ती खेप्नुपर्छ।

नेपालको सबैभन्दा ठूलो निकुञ्जका रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गर्दै ठूला जनावरलाई उनीहरुकै बासस्थानमै पुगेर हेर्न हलिउडका कलाकार पनि आउने गरेका छन्।

पर्यटकका लागि आवश्यक प्राथमिक पूर्वाधारका रुपमा रहेको पुल, बाटोजस्ता पूर्वाधार नहुँदा यहाँको चिनारी राम्रो विस्तार हुन सकेको छैन।

काठमाडौँबाट लामो दूरी पार गरेपछि पुगिने बर्दियाको प्राकृतिक सौन्दर्यको अवलोकन गर्न पाइए पनि सरकारले चासो नदिंदा चर्चामा आउन नसकेको हो।

पर्यटकको सत्कार र आफ्नो जिल्लामा भएका पर्या पयर्टनलाई विश्वमा चिनाउन करोडौँ लगानी गरी खोलिएका रिसोर्ट र होमस्टे सञ्चालकहरु बाटोको सुविधा, कारोबारका लागि बैंक, बत्तीलगायतको राम्रो सुविधा हुन नसक्दा आएका पर्यटक पनि भम्रण अवधि छोट्याउने गरेको बताउँछन्।

निकुञ्जमा यस्ता अनुपम दृश्य हेरेपछि छेउमै रहेका थारु बस्तीमा उनीहरुका वेशभूषा, रहनसहन र सांस्कृतिक मनोरञ्जनले जोकसैको मन फुरुङ्ग बनाउँछ। साथै नेपालकै लामो कर्णाली नदीमा ¥याफ्टिङ गर्न चाहने पर्यटकका लागि पनि ३२ किमीको दूरी पार गर्नुपर्छ।

चौध वर्षदेखि ठाकुरद्वारामा नेपाल वाइल्डलाइफ रिसोर्ट सञ्चालन गर्दै आएका भीमबहादुर शाही काठमाडौँमा आएका पर्यटकलाई यहाँसम्म ल्याउन भरपर्दो माध्यम पनि नभएको गुनासो गर्छन्।

पछिल्लो समयमा होमस्टेका रुपमा प्रसिद्धि पाएको डल्ला होमस्टे, सतखलुवा होमस्टेसम्म पुग्ने बाटोको समस्या भएको जैविक मार्ग होमस्टे डल्लाका सञ्चालक परशुराम थारु बताउँछन्।

बेलायती राजकुमार ह्यारी बसेर गएको डल्ला होमस्टेमा पछिल्लो समय बाह्य र आन्तरिक पर्यटक पनि जाने क्रम बढेको उनको अनुभव छ।

करिब तीन करोडभन्दा बढी लगानीमा उनले सञ्चालन गरेको रिसोर्टमा वर्षमा जम्माजम्मी ५० पर्यटक आउँछन्। आफ्नो ठाउँका पर्यटकीय दृश्यलाई विश्वमा चिनाइ आफ्नो पनि आर्थिक उपार्जन गर्ने यहाँका बासिन्दाको चाहना विकासका कारण अधुरो बनेको छ।

ग्रामीण भेगमा पर्यटकीय क्षेत्र भएकाले पर्यटक भित्र्याउनका लागि मोबाइल फोन एक मात्र भरपर्दो साधन भए पनि विद्युत् नहुँदा व्यवसायी चिन्तित भएका छन् ।

अर्का पथप्रदर्शक तथा पर्यटन व्यवसायी राजन चौधरी सरकारले ठाकुरद्वारामा लगानी गर्ने वातावरण मिलाइदिनुपर्नेमा जोड दिन्छन्।

उनी भन्छन्– बाटो र बत्तीको मात्र राम्रो सुविधा हुने र काठमाडौँमा आउने पर्यटकलाई बर्दियाका बारेमा जानकारी गराउने कार्य थोरै मात्र बढाउन सकेमा पनि धेरै सफलता पाउन सकिन्थ्यो।

अर्का पर्यटन व्यवसायी कृष्ण भट्टराई बत्तीको राम्रो व्यवस्था हुन नसक्दा बल्लबल्ल आएका पर्यटक पनि अत्यधिक गर्मीका कारण पङ्खा र एसी नचल्दा बसाइँ छोट्याएर फर्कने गरेका बताउँछन्।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सेवा सुविधामा कन्जुस्याईं नगरी खोलिएका करिब २८ वटा साना ठूला होटल बर्दियाको ठाकुरद्वारामा छन् । यी होटलमा थोरैमा करोडको लगानी लागेको व्यवसायी बताउँछन् ।

पर्याप्त पर्यटकको अभावमा अहिले २५ वटा मात्र होटल रिसोर्ट सञ्चालनमा रहेका छन् । पर्या पर्यटन विकास मञ्चका अध्यक्ष तथा पर्यटन व्यवसायी मोहन चौधरी यहाँ सञ्चालित २८ होटलमा करिब रु ८४ करोड भन्दाबढीको लगानी रहेको बताउँछन् भने ३०० बढी स्थानीयवासीले रोजगारी पाएका छन् । कर्मचारीका लागि मात्र वार्षिक ३५ लाख खर्च हुने उनको भनाइ छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन रमेश थापा ९६८ वर्गकिमीमा फैलिएको निकुञ्जको संरक्षण गर्दै पर्यटक विकासका लागि आफूहरुले पहल गरिरहेको बताउँछन्।

यहाँको भौतिक पूर्वाधारका साथै काठमाडौँदेखि यहाँसम्म आइपुग्ने हवाई भाडा निकै महँगो अन्य यातायातमा पनि बढी शुल्क पर्ने भएकाले पनि पर्यटकको कमी भएको बताउँछन् । यस विषयमा आफूहरुले माथिल्लो निकायमा कुरा उठाउने गरेको भए पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

पर्यटकीय क्षेत्रमा विद्युत्, बाटो र बैंक सुविधाका लागि व्यवसायीले पटक पटक विद्युत् प्राधिकरण, जिल्ला विकास, जिल्ला प्रशासन र सरकारसँग पनि माग राख्दै आएका छन् तर वर्षौं बित्दा पनि कतैबाट सिन्कोसम्म भाँचिएको छैन ।

वर्षौंसम्म माओवादी युद्धका कारण प्रभावित बनेको ठाकुरद्वाराको पर्यटन व्यवसाय शान्ति सम्झौताको दशक बित्न लाग्दा पनि सरकारको आँखामा पर्न सकेको छैन ।रासस