सदरमुकाम चरिकोटमा रहेको कारागारको महिला बन्दी गृहमा पुरुष कैदी/बन्दी राखिएकाले महिला कैदी/बन्दीलाई अन्य जिल्लामा पठाउने गरिएको छ।
भूकम्पले भवन क्षतिग्रस्त भएपछि शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले पुरुष र महिला राख्ने छुट्टाछुट्टै नयाँ बन्दीगृह बनाउन बजेट विनियोज गरेको भएपनि ठेकेदारले पुरुष बन्दी गृह समयमै सम्पन्न नगरेकाले महिला बन्दि गृहमा पुरुष कैदी/बन्दी राखिएको चरिकोट कारागारका प्रमुख मुकुन्द पन्थले बताए।
महिलाको तुलनामा पुरुष कैदी/बन्दीको संख्या अत्यधिक भएकाले अर्को भवन नबन्दासम्म महिला कैदी/बन्दीलाई अन्यत्र पठाई पुरुषलाई राख्नु परेको कारागार प्रमुख पन्थको भनाई छ। भवनको अभावको कारण चालु आर्थिक वर्षमा ३ जना महिला बन्दीलाई अन्यत्र पठाउनु परेको कारागार प्रमुख पन्थले जानकारी दिए।
अन्यत्र पठाईएको तीनजना महिला कैदी/बन्दी मध्ये दुईजनालाई रामेछाप कारागारमा र एक जनालाई काठमाडौं पठाईए छ। नजिक हुने भएकाले अधिकांश महिला कैदी/बन्दीलाई रामेछाप पठाईने गरेको पन्थको भनाई छ। आर्थिक वर्ष ०७३/०७४ अघि ४ जना महिलालाई अन्यत्र पठाई सकिएको कारागार प्रमुख पन्थले बताए। यसरी भवनको अभावमा अहिलेसम्म सातजना महिला कैदी/बन्दीलाई अन्यत्र पठाईएको कार्यालयले जनाएको छ।
चरिकोट कारागारमा निर्माण गरिएको १७ जना राख्न सकिने महिला बन्दीगृहमा अहिले ७१ जना पुरुष कैदी/बन्दीलाई राखिएको कार्यालयले जनाएको छ। ५० जना पुरुष राख्ने बन्दीगृह निर्माण हुँदै गरेकाले अब चाँडै महिला कैदी बन्दीलाई पनि चरिकोट कारागारमा नै राख्न सकिने प्रमुख पन्थले बताए।