नेपाली कामदारका गुनासा र उजुरी सुन्न राष्ट्रिय मानव अधिकार आयोग र कतारको राष्ट्रिय मानवअधिकार समितिले एउटा संयुक्त उजुरी संकलन केन्द्र खोल्ने सहमति गरेका छन्।

पछिल्लो निर्णयसँगै अब कतारी मनावअधिकार समितिको कार्यलयमा स्थापित संयुक्त डेस्कले नेपाली कामदारका हकहितका विषयमा अनुगमन र अनुसन्धान गर्नेछ।

यसअघि सन् २०१५ मा नेपाल र कतारले आप्रवासी कामदारको अधिकार संरक्षणका लागि एउटा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

सो समझदारीपत्रको कार्यान्वयन योजनामा दुवै देशका मानवअधिकार हेर्ने निकायहरुले आइतबार काठमाण्डूमा हस्ताक्षर गरेका हुन्।

राष्ट्रिय मानव अधिकार आयोगले कतारको राष्ट्रिय मानव अधिकार समितिसँग संयुक्त पहलमा नेपाली कामदारहरुको समस्या बुझ्ने र त्यसको समाधान गर्न ‘डेस्क’ सञ्चालनमा ल्याउने जनाएको छ।

सोही ‘डेस्क’बाट आयोगले त्यहाँ हिंसा, मानव अधिकार उल्लंघनदेखि समस्यामा रहेका कामदारहरुको उजुरी लिने जनाएको छ।

समस्यामा रहेका कामदारहरुको उजुरी प्राप्त हुनासाथ छरितो रुपमा काम थाल्ने संयन्त्रको विकास गरिएको राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले बताइन्।

उनले भनिन्,” कतारमा रहेका कुनैपनि नेपाली कामदारले समस्याहरु भोग्नुभयो भने कि नेपाली दूतावासमा वा मानव अधिकार समितिमा सूचना दिनुपर्छ, हामीले यसलाई तत्काल समस्या समाधान गर्ने संयन्त्रको रुपमा विकास गर्दैछौं।” झन्डै ५ लाख नेपाली कामदारहरु रहेको भनिएको कतारमा कैयौं कामदारहरुको कष्टकर स्थिति रहेको खबर सार्वजनिक हुँदै आएका छन्।