अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरीकी राष्ट्रपति चुनावको अभियानका क्रममा गरिएको भनिएको हस्तक्षेपका लागि रुसले सजाय पाउने बताएका छन्।
अमेरिकाको एनपिआर रेडियोलाई दिएको अन्तरवार्ताका क्रममा ओबामाले भने, “हामीले कारवाही गर्नैपर्छ र हामी गर्नेछौँ।”
यसअघि उनले राष्ट्रपतीय चुनावअघि आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनावमा हस्तक्षेप गर्न चेतावनी दिएको खुलासा गरेका थिए।
क्लिन्टन र डेमोक्र्याटिक पार्टीको इमेल ह्याकिङ गरेको आरोप रुसमाथि लागिरहेको छ जसको मस्कोले खण्डन गर्दै आएको छ।
ओबामाले चुनाव अघि आफूले पाएको गुप्तचरको सूचनाले रुसले डेमोक्र्याटिक पार्टीका इमेलहरु ह्याक गरिरहेकोमा आफूलाई विश्वस्त बनाएको पनि उल्लेख गरे।
उनले राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पलाई अमेरिकाको चुनावी प्रक्रियामा भएको हस्तक्षेपको विषयलाई गम्भीर रुपमा लिन आह्वान गरेका छन्।
तर उनले उक्त हस्तक्षेपले चुनावी परिणाममा निर्णायक असर गरे नगरेको बारेमा भने कुनै टिप्पणी गरेनन्।
यसैबीच चुनावमा पराजित भएपछि पहिलोपटक प्रतिक्रिया जनाउँदै डेमोक्र्याटिक तर्फकी उम्मेदवार हिलरी क्लिन्टनले रुसले इमेल ह्याक गरेकै कारण आफूले चुनावमा हार बेहोरेको बताएकी छन्।
उनले आफू चुनावमा पराजित हुनुमा रुसले अनधिकृत रुपमा इमेल ह्याक गर्नुलाई जिम्मेवार ठहर्याएकी छन्।
उनले पाँच वर्षअघिको रुसको संसदीय चुनावलाई आफूले धाँधलीपूर्ण भनेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूविरुद्ध व्यक्तिगत प्रतिशोध साँधेको पार्टीका आफ्ना दाताहरुलाई बताएकी हुन्।
अमेरिकाको संघीय जाँच ब्यूरो एफबिआइका निर्देशक जेम्स कोमीले चुनावको केही दिनअघि अनुसन्धानबारे पत्र सार्वजनिक गरिदिँदा मुख्य राज्यहरुमा आफूले हारेको उनले उल्लेख गरिन्।