तपाईं नेकपा (एमाले) को सदस्य बन्न चाहनुहुन्छ भने अब देशको राजनीति र पार्टीको सैद्धान्तिक विचारबारे प्रशिक्षण मात्र लिएर पुग्दैन, जाँच नै दिनुपर्ने छ।
प्रमुख प्रतिपक्षी तथा दोस्रो ठूलो दल नेकपा (एमाले)ले सदस्यका रुपमा पार्टी प्रवेश गर्न चाहनेका निम्ति प्रशिक्षण सँगसँगै परीक्षा पनि लिन सुरू गरेको छ। एमालेको नवौं महाधिवेशनले नै त्यस्तो प्रशिक्षण र परीक्षा लिने व्यवस्था गरेको भए पनि पार्टीको ‘स्कुल विभाग’ ले केही समय अघिदेखि मात्र त्यस्तो प्रक्रिया सुरू गरेको हो।
‘अहिले पार्टी कार्यकर्तामा समेत ट्विरका १४ अक्षर र फेसबुकका छोटा टिपोट हेरेर धारणा बनाउने र प्रतिक्रिया दिने चलनले व्यापकता पायो,’ पार्टीका उपमहासचिव घनश्याम भुसालले सेतोपाटीसँग भने, ‘विधानअनुसार नै पार्टीमा प्रशिक्षण गर्ने र परिक्षा लिन समेत सुरू गरिएको छ।’
एमालेको स्कुल विभागमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख छन् भने शंकर पोखरेल उप-प्रमुख छन्।
देशको राजनीतिक अवस्था, भू-राजनीति, परराष्ट्र नीति, मार्क्सवाद-लेनिनवादका आधारभूत विषय प्रशिक्षण र परिक्षाको विषय भएको पार्टी नेता पोखरेलले सेतोपाटीलाई बताए।
एमालेले कार्यकर्ता प्रशिक्षणका लागि १८ वटा विषय छानेको छ र त्यसमध्ये १३ वटा विषयलाई महत्वपूर्ण मानेर अनिवार्य गराएको छ।
‘हामीले १३ वटा विषयमा विज्ञलाई समेत सहभागी गराएर प्रसिक्षण सुरू गरेका छौं। प्रशिक्षणमा १४ वटा पिरियड हुन्छ र प्रत्येक पिरियड २ घण्टा लामो हुन्छ,’ पोखरेलले भने, ‘त्यसको उदेश्य भनेको आधारभूत कुरामा जानकार नेतृत्व क्षमता विकास गर्नु हो।’
प्रशिक्षण र परीक्षापछि कार्यकर्तालाई प्रमाणपत्र उपलब्ध गराउने पोखरेलले बताए। उत्तर पुस्तिकामा प्रशिक्षार्थीले उत्तर लेख्छन र त्यसपछि प्रशिक्षकले उत्तर भनिदिन्छन्। त्यसपछि आफ्नो उत्तर कति सही वा गलत भएकोबारे फैसला प्रशिक्षार्थी आफैंले गर्छन्।
‘त्यस्ता प्रसिक्षणबाट खारिएका कार्यकर्ता पार्टी नेतृत्वमा स्थापित गर्दै लैजाने नीति बनाउँदै जानेछौं,’ पोखरेलले भने,’ पार्टीमा नेतृत्वको लागि नयाँ र बदलिँदो परिस्थिति बारेको ज्ञान आवश्यक छ।’
पोखरेलले जम्मा २२ वटा जनवर्गीय संगठनमा प्रशिक्षण तथा परीक्षाको कार्यक्रम सञ्चालन गर्दैछन्। अहिलेसम्म १२ वटा जनवर्गीय संगठनमा त्यस्तो कार्यक्रम सकिएको छ र १३ औं सङ्गठनमा कार्यक्रम हुँदैछ। यस्ता कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गरिने पनि पोखरेलले बताए।
एमाले नेताहरूका अनुसार पञ्चायतकालमा पार्टीमा थोरै सदस्य थिए र नेता तथा कार्यकर्ताले पार्टीको दर्शन र देश-कालबारे व्यक्तिगत स्तरमा नै अध्ययन गर्ने चलन थियो।
तर आज संगठन अत्यन्त ठूलो भएको र सामाजिक संजालहरु मार्फत छोटो र भावनात्मक रुपले मात्र उनीहरुको विचार निर्माण हुने भएकाले त्यस्तो प्रशिक्षण सुरू गर्नु परेको उनीहरूको धारणा छ।
तर पञ्चायतकालमा पनि राजनीतिक प्रणालीविरुद्ध कसरी संघर्ष गर्ने भन्नेबारे बढी मात्रामा प्रशिक्षण हुने गरेको थियो। त्यसकारण देश, काल र बदलिँदो आर्थिक-सामाजिक कुरामा कार्यकर्ता प्रशिक्षण गर्नु सकारात्मक रहेको पोखरेलको धारणा छ।