नेपालमा दैनिक नौ सय बाइक भित्रिन थालेका छन् । पछिल्लो चार महिनाको तथ्यांकले यस्तो देखाएको हो । साउनदेखि कात्तिकसम्म एक लाख आठ हजार आठ सय ३७ बाइक नेपालमा दर्ता भएका छन् । चार महिनाको तथ्यांकलाई केलाउँदा दैनिक एक हजारको हाराहारिमा बाइक तथा स्कुटर नेपाल भित्रिने गरेका छन् ।
गत आर्थिक वर्षभरि नेपालमा दुई लाख ६७ हजार चार सय ३९ बाइक दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांकले देखाउँछ । चार महिनाको तथ्यांकले यो वर्ष तीन लाखभन्दा बढी बाइक भित्रिने अनुमान लगाउन सकिन्छ । नेपालमा एक लाख रुपैयाँ पर्ने इलेक्ट्रिक स्कुटरदेखि ५० लाखसम्मका हेभी बाइक बिक्री हुन्छन् ।
सार्वजनिक यातायातको राम्रो सुविधा नभएको नेपालमा बाइक तथा स्कुटर भरपर्दो साधन बनेको छ । विभागका अनुसार अहिलेसम्म साढे १९ लाख बाइक तथा स्कुटर दर्ता भइसकेका छन् । नेपालमा भारतबाट भित्रिने बाइकको बजार ठूलो छ । साथै, इटाली, जापानलगायतका मुलुकबाट आउने हेभी (महंगा) बाइकका पारखीहरू पनि बढ्दैछन् ।
नेपालको सडक अवस्था दयनीय छ । खाल्डाखुल्डी तथा कच्ची सडकमा कुदाउन बाइक उत्तम साधन बन्दै आएको छ । राजधानी काठमाडौंमा बढ्दै गइरहेको ट्राफिक जामले सहज यात्राका लागि बाइक चढ्ने बढ्दै गएका छन् । त्यसमाथि सरकारले सवारी साधनमा लगाएको उच्च भन्सार दरले नेपालीको आम्दानीमा बाइक नै सहज बनेको छ ।
चार महिनामा समग्र अटो बजारमा एक लाख ४१ हजार सात सय २९ सवारी साधन थपिए । यो संख्या गत आर्थिक वर्षमा भित्रिएका कुल सवारी संख्याको झन्डै आधा हुन आउँछ । गत आर्थिक वर्षमा तीन लाख ३४ हजार सवारी दर्ता भएका थिए । नेपालमा कार, जीप, भ्यान, बस, पिकअप, ट्रक, क्रेन, डोजर, एक्साभेटर, माइक्रो बस, टेम्पो, ट्रयाक्टर, इ–रिक्सालगायतका गाडीहरू आयात हुन्छन् ।
यस वर्ष कार/जीपको आयात पनि उच्च हुने देखिएको छ । चार महिनाको अवधिमै नौ हजार तीन सय ६३ थान कार, जीप र भ्यान भित्रिएका छन् । नेपालमा इन्ट्रिलेबलका कारमा बढ्दो आकर्षण छ । बाइकबाट कारमा ‘सिफ्ट’ हुनेहरूको रोजाइमा इन्ट्रिलेबलका कार पर्छन् ।
खासगरि १४ लाखदेखि २५ लाखसम्मका कारको बिक्री उच्च छ । एक लेबलका ग्राहकले कम्प्याक्ट एसयूभीको बजार उछालिरहेका छन् । अहिले हुन्डाइको क्रेटा, रेनल्टको डस्टर, फोर्डको इकोस्पोर्ट सर्वाधिक बढी बिक्री हुने एसयूभी हुन् । नेपाली सडकमा १४ लाख रुपैयाँदेखि चार करोड रुपैयाँसम्मका गाडी कुद्छन् ।
विभागका अनुसार सार्वजनिक यातायातका रूपमा प्रयोग गरिने बसहरू भने चार महिनामा एक हजार नौ सय ७४ वटामात्र दर्ता भएका छन् । नेपालमा सार्वजनिक यातायातको अवस्था दयानीय छ । मिनीबस तथा मिनीट्रकहरू सात सय ४३ थान भित्रिएका छन् । त्यस्तै, चार हजार ६ सय ६२ थान डोजर, क्रेन, एक्साभेटर, ट्रक भित्रिएको विभागको तथ्यांकले देखाउँछ ।
चार महिनामा एक हजार ८६ माइक्रो बस भित्रिए । १५ सय ८४ टेम्पो भित्रिँदा पाँच हजार दुई सय ४७ थान ट्रयाक्टर, पावर टेलर भित्रिएका छन् । चार हजार पाँच सय ६१ थान इ–रिक्सा र ७१ थान अन्य सवारी साधन विभागमा दर्ता भएका छन् ।