सरकारी स्वामित्वको राष्ट्रिय दुग्ध विकास संस्थान (डिडिसी) ले निकै तयारी गरेर बनाएको युएचटी अर्थात अल्ट्रा हिट ट्रिटेड दुध उत्पादनको योजना निजी डेरी व्यवसायीको दबाबमा अर्थ मन्त्रालयले अनुदान नदिएपछि अलपत्र परेको छ।
चालु आर्थिक वर्षको बजेट भाषणमै बुटवलको डिडिसी कारखाना मार्फत युएचटी दूधको उत्पादनका लागि बजेट विनियोजन गरिए पनि निजी क्षेत्रको दबाबपछि ‘रातो किताब’मा भने ५ करोड ऋण व्यवस्था गरिएको भनेर छापिएपछि डिडिसीको योजना अलपत्र परेको हो।
स्रोतका अनुसार लगानी मुताविकको प्रतिफल सुनिश्चित नभएकाले निजी क्षेत्र यूएचटी दूधको उत्पादनमा उत्सुक छैनन्। उनीहरुले दुग्धजन्य बजारमा आफूहरुको  ५५ प्रतिशत हिस्सा भएकाले डिडिसीलाई कुनै प्रकारको अनुदान नदिन मन्त्रालयलाई चर्को दबाब दिएका थिए।
स्रोतका अनुसार निजी डेरी सञ्चालकहरु युएचटी मिल्क उत्पादनमा लगानी गर्न इच्छुक नभएकाले डिडिसीलाई मात्र दिइने सबै प्रकारको अनुदानको विरोध गरेर युएचटीको उत्पादन रोकिएको हो।  डिडिसीका निमित्त उपमहाप्रबन्धक इश्वरीप्रसाद अधिकारीका अनुसार संस्थानले युएचटी दूध उत्पादनको योजना निकै अघिदेखि अगाडि सारेको छ।
‘युएचटी मिल्क स्वदेशमै उत्पादन गर्न सकेमा विदेशी आयात विस्थापित हुने भएकाले ७ वर्षदेखि कृषि मन्त्रालयमार्फत लबिङ गर्दै आएका थियौँ’ उपमहाप्रबन्धक अधिकारीले सेतोपाटीसँग भने ‘यस वर्ष पशुपन्छी विकास तथा अर्थ मन्त्रालयका उच्च अधिकारीले नै आयोजनाको आवश्यकता महसुस गरी बजेट उल्लेख गरिएपछि निकै उत्साहित भएका थियौंँ तर रातो पुस्तकमा कसरी कुरा फेरियो भन्नेमा अझै अनभिज्ञ छौँ।’
उनले बुटवलको डिडिसीको जग्गामा प्लान्ट स्थापना गरी प्रतिघण्टा ५ हजार लिटर युएचटी दूध उत्पादन गरी देशभरीका बिक्री केन्द्र मार्फत बेच्ने योजना रहेको सुनाए। उनले भने, ‘पुरै काम गर्न ६० करोडको हाराहारीमा लगानी चाहिन्छ, बुटवलमा जग्गा, बिजुली, पानी तथा कर्मचारी सबै भएकाले त्यसैमै आवश्यक मात्रा बढाइ कम खर्चमै व्यवस्थापन गर्नेगरी सरकारसँग ३० करोड रुपैयाँ अनुदानको माग गरेका थियौँ।’
अधिकारीले डिडिसीलाई सिध्याएर एकाधिकार बजार निर्माण गर्न विभिन्न दवाव समूहले चलखेल गर्ने गरेको आरोप समेत लगाए। उता पशुपन्छी मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौड्यालसमक्ष यस बारेमा प्रश्न गर्दा उनले मन्त्रालयले ऋण लैजान भने पनि डिडिसीले आँट नगरेको जिकिर गरे।
उनका अनुसार पुरानो दायित्व नै तिर्न बाँकि रहेको अवस्थामा डिडिसीले झन्डै वार्षिक बजेटकै हाराहारीको ऋण भार थेग्न नसक्ने भन्दै अनुदान माग गरेको थियो। जसमा मन्त्रालय सकारात्मक भई अर्थसँग स्विकृति मागे पनि अनुदान उपलब्ध नगराउने भनेपछि आफूहरुले केही गर्न नसकेको पौड्यालले बताए।
उनको भनाइमा अर्थ मन्त्रालयले सरकारी संस्थानमा जति लगानी गरेपनि घाटा मात्रै खाने गरेको र सरकारी दायित्व बढेर गएको भन्ने दृष्टान्त दिँदै अनुदानप्रति अनुदार भएको जवाफ पठाउने गरेको छ।
के हो युएचटी दूध? के फरक छ प्याक दुध भन्दा?
युएचटी दूधलाई हाल भएको प्याकेटजसरी पिउनुअघि तताउनु पर्दैन। हामीले खाँदै आएको विभिन्न जुसको प्याकेटझैँ प्याक गरिएको हुनाले यसलाई सहजै अन्य जुसझैँ मन लागेको बेला पसलबाट किनेर सोझै खान सकिन्छ। ६ महिनसम्म नबिग्रने भएकाले आफूले इच्छयाएको समयसम्म राख्न पनि सकिन्छ।
दूधमा हुने किटाणुजन्य तत्वलाई मार्न युएचटी दूध तताउने क्रममा १३५ डिग्री सेल्सियस (२७५ डिग्री फरन्हाइट)को उच्च तापक्रममा १ देखि ३ सेकेन्डसम्म उमालिन्छ। अन्य दुध भने ७२ डिग्री सेल्सियस (१६१.६ डिग्रीफरन्हाइट) मा कम्तिमा १० सेकेन्ड देखि १५ मिनेटसम्म तताउने गरिन्छ।
यसो गर्नुको उद्देश्य युएचटी दूधलाई प्याक गरेर राख्दा आइस वा फ्रिजको प्रयोगबिना लामो समयसम्म क्यालोरी, क्याल्सियम तथा अन्य पोषक तत्व र स्वाद बचाइराख्नु हो। नेपालमा यस प्रकारको दुधको उत्पादन नहँुदा भारत तथा युरोपेली देशको आयातमै भर पर्नुपर्ने अवस्था छ।
हाल बजारमा आयातित युएचटी दूधको मूल्य १ सय ५० देखि ३ सय ५० रुपैयाँसम्म पर्ने गरेको छ। डिडिसीको प्रस्तावित योजनामा १ सय रुपैयाँ आसपासमा मूल्य पर्न जाने भनिएको थियो।