सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने अवस्था नरहेको बताएका छन्। अध्यक्ष थापाले संसदबाट पारित नहुने विधेयक छलफल नै गर्न नदिएर प्रमुख प्रतिपक्ष एमालेले गल्ती गरेको टिप्पणी गरे।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सरकारले संसदमा दर्ता गराएको विधेयकमाथि छलफल नै गर्न नदिएर प्रतिपक्षी एमालेसहितका दलहरुले मुलुकमा मुडभेढ निम्त्याउन खोजेको आरोप लगाए।
थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई आफ्नो पार्टीले यथास्थितिमा समर्थन नगर्ने बताएका छन् ।
उनले संविधान संशोधन प्रस्तावमा उल्लेख भएका केही प्रावधानहरु राष्ट्रिय हित अनुकुल नरहेको, स्वयम मधेशवादी दलहरु नै असन्तुष्ट रहेको, प्रदेश नम्बर ५ का जनताहरु आन्दोलनमा रहेको र प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गरिरहेकोले यथास्थितिमा उक्त प्रस्तावलाई अगाडि बढाउन नहुने बताएका हुन् ।
उनले नयाँ शिराबाट छलफल गरी संविधान संशोधन प्रस्ताव संशोधन गर्नुपर्ने आवश्यक्ता पनि औल्याए।
संविधान संशोधनका केही बुँदा राष्ट्रहित विपरित रहेको र त्यसलाई सच्याउन सबै दलहरुबीच नयाँ शिराबाट छलफल हुनुपर्ने प्रष्टयाएका थिए।