बाजुरा । सुत्केरी हुन नसकेपछि केही महिनाअघि मुगुको गोम्थाकी २२ वर्षीया बिजुली घोडासैनीलाई दुई दिन लगाएर बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याईयो । कोल्टि प्राथमिक केन्द्रमा सुत्केरी हुने सम्भावना नभएपछि स्वास्थ्य केन्द्रले नेपालगञ्ज रिफर गर्यो ।
कोल्टिमा एकमात्र यातायातको साधन हवाईजहाज हो । बिजुलीका आफन्त जहाज लिन कोल्टि विमानस्थल गए । सिम्रीक एयरलाइन्सको जहाज आयो, तर ती गर्भवती लैजान मानेन, जडिबुटी लिएर गयो । जहाजले बिजुलीलाई नलिई पुरै जहाजमा जडिबुटी भरेर नेपालगञ्ज गयो ।
दिनभरी जहाजको प्रतिक्षामा उनीहरू बसे । जहाजले नलगेपछि उनको विमानस्थल मै मृत्यु भएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विकल लामिछानेले वताए । ‘स्वास्थ्य केन्द्र ल्याइपुर्याउँदा बच्चा जन्माउन नसकेर उनको पाठेघर समेत पुरै फुटिसकेको थियो, हामीले नसक्ने नभएपछि नेपालगञ्ज रिफर गर्यौं, तर जहाजले लैजान मानेन, जडिबुटी भरेर गयो, बिजुलीको विमानस्थल मै मृत्यु भयो’ लामिछाने भन्छन् । बिजुलीका आफन्त र स्वास्थ्यकर्मीले हारगुहार गर्दा पनि जहाज चालक र एयरलाइन्स लैजान नमान्दा उनको मृत्यु भयो ।
बिजुली जस्तै बाजुराको बाधुकी दमले थलिएकी ४५ वर्षीया रुमा बुढा पनि स्थानिय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि नेपालगञ्ज जानुपर्यो । उनलाई नेपालगञ्ज लैजान उनका आफन्त विमानस्थल पुगे । गोमा एयरलाइन्सको जहाज आयो, बिरामी लैजान हारगुहार गरे, जहाज भने जडिबुटी भर्यो र उड्यो, उनलाई लैजान मानेन । रुमाको पनि विमानस्थल मै ज्यान गयो । ‘पैसा भएर पनि के गर्ने हारगुहार गर्दा समेत लगेन, लास लिएर फिर्ता भयौं’ रुमाका आफन्त मन्दिर साउद भन्छन् । गएको असार १५ गते हुम्लाबाट नेपालगञ्ज जहाजले लैजान नमानेपछि कालिका गाविसकी १५ वर्षीया कालिका बुढाको पनि मृत्यु भएको थियो ।
यातायातको एकमात्र साधनको विकल्पको रुपमा रहेको हवाइजहाजले बिरामी र सुत्केरी लैजान नमान्दा कर्णाली अञ्चल र बाजुरका उत्तरी भेगका बिरामीले अकालै ज्यान गुमाउनु परेको छ । नीजि विमान एयरलाईन्स दर्ता हुँदा ४० प्रतिशत सामाजिक सेवामा काम गनुपर्ने सहमतिमा दर्ता हुने गरेपनि बिरामी नलिँदा निकै समस्या भोग्नु परेको हुम्लाका पत्रकार नवराज महतरा बताउँछन् ।
गर्भवती लैजाँदा जहाज भित्र जुनुसुकै बेला बच्चा जन्मने हुँदा महिला र बच्चालाई समस्या हुने भएकाले एयरलाइन्सले ७ महिना भन्दामाथिका गर्भवती लिन नमान्ने गरेको तारा एयरलाईन्स कोल्टि स्टेशन ईन्चार्ज तिर्थकला राईले वताईन् ।
जहाज भित्र बच्चा जन्माउँदा सेवा सुविधा दिनुपर्ने र मृत्यु भएमा २० लाख रुपैयाँसम्म तिर्नुपर्ने समस्याले पनि लिन नमान्ने गरेको राईको भनाइ छ ।
बिरामीलाई लिँदा अक्सिनजन कम हुने र बिरामी झन जोखिममा हुने भएकाले एयरलाइन्स कम्पनीबाटै नलिनु भन्ने निर्देशन समेत हुने गरेको छ ।
कोल्टि विमानस्थलका प्रमुख मोहन गिरीले भने विगतमा एयरलाइन्सले गर्भवती र बिरामीलाई लिन नमान्ने भएपनि आगामी दिनमा भने आफूहरूले यसलाई सच्याउने वताए । जहाजमा बिरामी लैंजादा अक्सिजनको कमिका कारण उनीहरू झन जोखिममा पर्ने र समस्या उत्पन्न हुने उनी बताउँछन् । जहाजले बिरामीलाई नलिँदा यो भेगका बासिन्दालाई निकै समस्या भएको नागरिक समाज बाजुराका संयोजक डम्मर महत वताउँछन् ।