सिल्दजुरे कास्की । जिल्लाकै ठूलो २५ मेगावाट क्षमताको अपरमादी जलविद्युत् आयोजनाको निमार्ण कार्य सम्पन्न भएको छ । कास्की जिल्लाको पार्चे गाविस सिल्दजुरेस्थित मादीमा २०६९ पुस १३ गते शिलन्यास भई निमार्ण कार्य सुरु गरिएको आयोजनाबाट उत्पादित विजुली डिसेम्बर महिनाभित्र राष्ट्रिय ग्रीडमा जोड्ने गरी निमार्ण कार्य सम्पन्न भएको हो ।
अपरमादी जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएपछि राष्ट्रिय प्रसारण लाइन (लेखनाथ सवस्टेसनमा रहेको एक सय ३२ केभी प्रसारण) मार्फत चार्ज गरिएको छ । चार्ज गर्दा कुनै समस्या नदेखिएको आयोजनाका निर्देशक विजयबाबु मल्लले जानकारी दिए । टर्वाइन, ट्रान्सफर्मर, जेनेरेटरसहितका उपकरण परीक्षण पनि सफल भएकाले २० गते सुरुङमा पानी छाडी परीक्षण गरेपछि डिसेम्बर महिनाको अन्तिम हप्तासम्म व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिने निर्देशक मल्लले बताए ।
मुख्य प्रसारण लाइनमा जोड्ने ३२ वटा टावरमा विद्युत् चुहावटको परीक्षण पनि सफल भएको छ । मुहानबाट सुरुङमा २० गते पानी छाडेर परीक्षण गरेपछि विद्युत् उत्पादन थालिने उनले जानकारी दिए । आयोजनामा चीनको चाइना थ्री गर्जेज कर्पोरेसनसँग आवद्ध चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) को ८० प्रतिशत र निर्देशक विजयबाबु मल्लको २० प्रतिशत लगानी छ ।
एक वर्षअघि नै निमार्ण सम्पन्न गर्नेगरि सुरु भएको आयोजनाको सुरुङ नजिकै पटक पटक पहिरो जानु, भूकम्प र नाकाबन्दिका कारण इन्धन अभाव हुनुलगायतका कारण निमार्ण तोकिएको समयमै सम्पन्न गर्न नसकिएको आयोजनाका संयोजक राजकुमार बरालले बताए । यसले निर्माण लागत पनि बढेको छ । आयोजना निर्माण गर्दा पाँच अर्ब ५८ करोडमा सक्ने लक्ष्य राखिएकोमा लागत बढेर सात अर्ब पुग्ने उनले सुनाए ।
दुई पटक उर्जा खरिद सम्झौता गर्नु परेकाले उत्पादन भएको विद्युत् दुईथरि मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ । सुरुमा २० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएर सुरु गरिएको आयोजना पाँच मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने देखिएपछि पाँच मेगावाट बढाउँदा फेरी सम्झौता गर्नु परेको निर्देशक मल्लले बताए ।
एकै समयमा सम्पन्न हुने एउटै आयोजनाको दुई पटक सम्झैता गर्नुपर्ने अवस्थाले २० मेगावाटको विद्युत् उत्पादन हिउँदमा प्रतियुनिट सात रुपैयाँ र वर्षामा प्रतियुनिट चार रुपैयाँमा बिक्री गर्नेगरि सम्झौता भएको छ । पछि थपिएको पाँच मेगावाटको विद्युत् हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षामा चार रुपैयाँ ८० पैसा प्रतियुनिटमा बिक्री गर्ने सरकारसँग सम्झौता भएको उनले बताए ।
एकै समयमा सम्पन्न हुने एउटै आयोजनाको दुईथरि मूल्य उचित नभएको बताउँदै निर्देशक मल्लले पछिल्लो सम्झौता अनुसार हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षामा चार रुपैयाँ ८० पैसा प्रतियुनिट लागू गर्नुपर्ने उनले बताए । एउटै आयोजनाको उत्पादन बढ्ने भएपछि पुनः अर्को सम्झौता गर्नुपर्ने अवस्था संसारमै कही नभएको बताउँदै व्यवसायीको मनोवल बढाउन पनि सरकारले यस्तो नियम हटाएर सम्झैता हुने व्यवस्था मिलाउनुपर्ने मल्लले बताए ।
आयोजनामा एक सय ७५ चिनियाँ र पाँच सय ५० नेपालीसहित सात सय कामदारले दैनिक काम गर्दै आएका थिए । पछिल्लो समय आयोजनामा चिनियाँ र नेपाली गरी ५० जना कामदार संलग्न छन् ।