म्युनिख हवाई दुर्घटनादेखि इटलीको पाँच पटकको फुटबल विजेता टोली टोरिनो र सम्पूर्ण अमेरिकी ‘फिगर स्केटिङ’ टोलीका सदस्यले ज्यान गुमाएका यी केही विमान दुर्घटनालाई विश्व खेलकुदका सबैभन्दा पिडादायी घटनाका रुपमा लिइन्छ।

ब्रजिलImage copyrightTELEANTIOQUIA
Image caption कोलम्बिया जाने क्रममा रहेको विमान दुर्घटनामा श्यापेकोएन्सी क्लबका अधिकांश खेलाडी र प्रशिक्षकले ज्यान गुमाएका छन्

ब्रजिलको एउटा प्रमुख फुटबल टोली चढेको विमान कोलम्बियाको मेडेलिन नजिकै दुर्घटना हुँदा अधिकांश खेलाडी तथा प्रशिक्षकले ज्यान गुमाएका छन्।

उक्त चार्टर्ड विमानमा सवार श्यापेकोएन्सी क्लबका खेलाडीहरु दक्षिण अमेरिका स्तरीय प्रतियोगिताको फाइनल खेल्न कोलम्बिया गइरहेका थिए।

विभिन्न प्रतियोगितामा भाग लिन खेलकुद टोलीहरु प्राय: जसो एउटै विमानमा यात्रा गर्ने गर्छन्।

विमान दुर्घटनामा पीडा खेप्ने खेलकुद टोलीहरुको सूचीमा श्यापेकोएन्सी फुटबल टिम सबैभन्दा पछिल्लो हो।

अरु पनि बिर्सनै नसकिने उदाहरणहरु यस्ता छन्:

१९४९: ग्रान्डे टोरिनो

सन् १९४९ मे मा टोरिनो फुटबल टोलीका खेलाडीहरु लिएर उडेको विमान ट्युरीन नजिकै पहाडमा दुर्घटनाग्रस्त हुँदा ३१ जनाको ज्यान गएको थियो।

त्यसबेला ग्रान्डे टोरीनो इटलीको प्रमुख फुटबल टोली थियो र उनीहरुले इट्लीका पाँचवटा उपाधिहरु जितेका थिए।

तर उक्त दुर्घटनामा आफ्ना अधिकांश सदस्यको ज्यान गएपछि सो टोली कहिल्यै उक्त पीडाबाट माथी उठ्न सकेन।

१९५८: म्युनिख हवाई दुर्घटना

म्यानचेस्टर युनाइटेड फुटबल टोली, जसलाई त्यसबेला टोलीका म्यानेजर म्याट बस्बीको नामबाट ‘बस्बी बेब्स’ पनि भनिन्थ्यो, युरोपियन कप अन्तर्गत रेड स्टार बेलग्रेडसँग खेलेर फर्कने क्रममा विमान दुर्घटनामा पर्यो।

म्युनिख, विमान, खेलकुदImage copyrightAP
Image captionम्यानचेस्टर युनाइटेडका खेलाडी सवार विमान उड्ने क्रममा म्युनिखमा दुर्घटना भएको थियो

विमान उड्ने क्रममा भएको उक्त दुर्घटनामा युनाइटेडका आठ खेलाडी र अन्य १५ जनाको ज्यान गएको थियो।

म्युनिखमा हिमपात भइरहेको समयमा चालकले तेस्रो पटक उडाउने प्रयास गर्दा विमान धावनमार्गबाट पर उछ्छिटिएको थियो।

विमानको एउटा पखेटा घरमा ठोक्किएको थियो भने विमान अर्को भवनमा ठोक्किदाँ आगो लागेपछि जलेको थियो।

१९६१: अमेरिकी फिगर स्केटिङ टोली

संयुक्त राज्य अमेरिकाको फिगर स्केटिङ टोलीका सबै १८ सदस्य अवतरण गर्ने प्रयासमा ब्रसल्स विमानस्थल नजिकै भएको दुर्घटनामा ज्यान गुमाउने ७३ जना मानिसहरु मध्ये पर्छन्।

चेकोस्लोभाकियाको प्रागमा भइरहेको विश्व च्याम्पियनसिपमा भाग लिन टोली त्यसतर्फ गइरहेको थियो।

उक्त दुर्घटनापछि सो प्रतिस्पर्धा नै स्थगित गरिएको थियो।

सन् १९५० को दशकको फिगर स्केटिङको अमेरिकाको टोलीलाई उत्कृष्ट मध्येमा लिइन्थ्यो तर त्यत्ति धेरै खेलाडी र प्रशिक्षक गुमाएपछि अमेरिकालाई पुन: उक्त खेलको लयमा फर्कन कयौँ वर्ष लागेको थियो।

१९७२: ‘एलाइभ’

१३ अक्टोबरमा उरुग्वेको राजधानी मोन्टेभिडियोबाट चिलेको स्यान्टिआगोतर्फ उडिरहेको फेयरचाइल्ड नामक फोकर विमान वेपत्ताहुँदा उरुग्वेको एउटा रग्बी टोली ‘ओल्ड क्रिश्चियन्स’ सदस्यहरु बेपत्ता भएका थिए।

दुई महिनापछि चिलेको हवाई सेनाले दुर्घटनामा बाँच्न सफल १४ जनालाई जीवितै उद्दार गरेको थियो।

एलाइभ, उरुग्वेImage copyrightAFP
Image captionदुर्घटना भएको ३० वर्षपछि उरुग्वेको रग्बी टोलीका खेलाडीहरुले चिलेमा भेट गरेका थिए

अरु थप २ जना एकदमै चिसो क्षेत्रमा १० दिनसम्म बिस्तारै हिँडेर गोठालाहरुको बसोबास रहेको एनडियन पहाडको तल्लो क्षेत्रमा आइपुगेका थिए।

उक्त दुर्घटनाको कथालाई समेटेर किताब र पछि ‘एलाइभ’ नामक चलचित्र पनि बनेको थियो जसमा कसरी दुर्घटनामा बाँच्न सफल भएकाहरुले मृतकका मासु खाएको विवरण पनि समावेश गरिएको थियो।

१९७९: पाख्ताकोर तासकेन्त

सन् १९७९ अगष्टमा अहिलेको युक्रेनमा बीच आकाशमा दुई विमान ठोक्किदाँ पाख्ताकोर तासकेन्त फुटबल टोलीका १७ जना सदस्यको ज्यान गएको थियो।

उक्त दुर्घटनामा दुवै विमानमा सवार सबै १७८ यात्रु मारिएका थिए।

सोभियत संघ आवद्ध देशका अन्य टोलीहरुले फुटबल खेलाडीहरु सापट दिएर पाख्ताकोर टोलीलाई सो खेलकुद सिजन पूरा गर्न सहयोग गरेका थिए।

१९८७: अलियान्सा लिमा

पेरुको सफलतम र सर्वाधिक समर्थन प्राप्त टोलीका रुपमा लिने गरिएको अलियान्सा लिमा फुटबल टोलीका खेलाडीहरु सवार विमान अवतरण गर्नु केही मिनेट अघि दुर्घटना भएर समुन्द्रमा खसेको थियो।

त्यसक्रममा अलियान्सा लिमा टोलीका सबै सदस्यसहित ४३ जना मारिएका थिए।

उक्त दुर्घटनाका एकमात्र जीवित त्यस विमानका चालक रहेका थिए।

१९९३: जाम्बिया राष्ट्रिय फुटबल टोली

सेनेगलमा भइरहेको विश्वकप छनौटमा भाग लिन जाने क्रममा हवाई सेनाको विमान गुबोन नजिकै दुर्घटना हुँदा जाम्बीयाको राष्ट्रिय फुटबल टोलीका १८ सदस्यले ज्यान गुमाएका थिए।

दश वर्षपछि आएको अनुसन्धान निष्कर्षले विमानको बायाँतर्फको इन्जिनमा आएको प्राविधिक गडबडीलाई दुर्घटनाको कारक मानेको थियो।

प्रतिवेदनका अनुसार विमान चालकहरुले राम्ररी चलिरहेको दायाँ इन्जिनलाई इन्डिकेटरबाट कम उज्यालो देखिएका कारण गल्तीले बन्द गराएपछि विमान बन्द भइ दुर्घटनामा परेको थियो।

२०११: लुकमटिभ यारोस्लाभ्ल आइस हकी टोली

तीन पटकको रुसी आइस हकी विजेता लुकमटिभ यारोस्लाभ्लका सबै खेलाडीहरुले सन् २०११ सेप्टेम्बरमा भएको हवाई दुर्घटनाको क्रममा ज्यान गुमाएका थिए।

बेलारुसमा हुने खेलका लागि टोलीका सदस्य लिएर उडेको विमान दुर्घटना हुँदा आगो समेत लागेको थियो।

खेलकुद,Image copyrightAFP
Image captionविमानको अवशेष नजिकैको नदीमा फेला परेको थियो

विमान र त्यसमा सवार मानिसका भग्नावशेष नजिकै अवस्थित टुनिस्ना नामक युरोपको लामो नदी मानिने पछि भोल्ग नदीको सहायक नदीमा फेला परेको थियो।

उक्त दुर्घटनामा सात चालक दलका सदस्य, खेलाडी र पदाधिकारीसहित ३६ जना मारिएका थिए।

अर्का एक खेलाडीको भने पछि अस्पतालमा ज्यान गएको थियो।