फटकसीला (सिन्धुपाल्चोक) । फटकसीलकी शान्ति तामाङ ढाका वुन्छिन् । भूकम्पले घर सँगै जीविकोपार्जनको आधार पनि भत्केपछि उनी ढाका बुन्ने व्यवसायमा लागेकी हुन् । अहिले शान्तिको आम्दामी राम्रो छ ।
शान्ति जस्तै निर्मला मिजार पनि जीविकोपार्जनको आधार खोज्दै थिईन् ढाका व्यवसायमा । सीप छैन, पढाई छैन भनेर निराश जीवन विताईरहेका शान्ति र निर्मला जस्तै फटकसीलाका ११ महिला अहिले ढाका व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् ।
जिल्ला लघु उद्यमी संघको समन्वयमा लालीगुराँस सहकारी संस्था स्थापना गरी संस्थागत रुपमा फटकसीलाका महिलाले व्यवसाय सुरु गरेका हुन् । उनीहरू जीविकोपार्जनमात्र होईन आत्मनिर्भर वन्न समेत सफल भएका छन् ।
सीघ्र उद्यम पुनरोत्थान कार्यक्रमले फटकसीलामा ढाका व्यवसायका लागि भवन निर्माण गरिदिएको छ । भवन भित्र राखिएका आधा दर्जन भन्दा वढी तानमा उद्यमी महिला ढाका बुन्न व्यस्त छन् ।
‘सीप छैन, पढाई पनि छैन, गरि खाने मेसो नै थिएन,’ निर्मला भन्छिन्, ‘अव गाँउमै निर्वाहको वाटो सजिलो भएको छ ।’ सीप र भवन भएपछि अव व्यवहार चलाउने समस्या अन्त्य भएको उनले सुनाईन् ।
पुनरोत्थान परियोजनाले व्यवसायी महिलाको इच्छा अनुरुप ढाका सम्वन्धि सीप विकास तालिम प्रदान गरेको हो । सीपसँगै भवन पनि निर्माण गरिदियो । त्यही भवन भित्र महिलाले आफूले सिकेका सीपको सदुपयोग गरिरहेका छन् । जसवाट एक महिला व्यवसायीले मासिक तीस हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।
उनीहरूले ढाकाका टोपी, पछ्यौरा, कमीज, चोलोलगायत तयार गर्छन् । फटकसीलालाई ढाकाको पकेट क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको व्यवसायी महिलाले सुनाए । ‘ढाकाका सामग्री चाहिएमा फटकसीलालाई सम्झिन सकुन्,’ उद्यम समूहकी सदस्य एवम् प्रशिक्षक सिर्जना घोरासैनीले भनिन् ।
घरेलु तथा साना उद्योग विकास समिति, लघु उद्योग विकास कार्यक्रम, जिल्ला लघु उद्यमी संघले ढाका उद्योग फटकसीलालाई प्रोत्साहन गर्ने जनाएको छ । ‘व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गरेमा हामी सहयोग गर्ने छौ’ घरेलु तथा साना उद्योग समितिको कार्यालयकी प्रमुख कल्पना शर्माले भनिन् ।