काठमाडौं । महालक्ष्मी नगरपालिका– १३ का विनयजंग बस्नेतले अस्पताल, सडक, मठमन्दिर र पाटीका बेवारिसे शवलाई आफ्नै खर्चमा दाहसंस्कार गर्ने गरेका छन् । ३ वर्षयता उनले ४० भन्दा बढी बेवारिसे शवको दाहसंस्कार गरिसकेका छन् । बेवारिसे शवको दाहसंस्कारसँगै बाटोमा देखिएका बिरामी पनि अस्पताल पुर्‍याएर उनले उपचार गरिदिन्छन् ।

पछिल्लो समय उनी पाटन अस्पतालको शवगृहमा बेवारिसे ४ वटा शवको सामूहिक दागबत्ती दिने तयारीमा छन् । प्रहरी रिपोर्ट तयार पारिसकेका छन् । ‘एउटा शव जलाउन कम्तीमा ९ देखि १० हजार रुपैयाँ लाग्छ,’ उनले भने, ‘सबै जलाउन ८० हजार लाग्ने भएकाले पैसाको जोहो गर्दै छु ।’ महानगरीय प्रहरी पोस्ट पाटन अस्पताल प्रमुख सई दलबहादुर श्रेष्ठले सरकारी निकायले गर्नुपर्ने काम बस्नेतले गरिरहेकामा खुसी व्यक्त गरे । ‘यसअघि पनि उनले १३ शवको सामूहिक दाहसंस्कार गरे,’ उनले भने, ‘उनी शव देखेर डराउँदैनन् । घिन पनि मान्दैनन् ।’

बस्नेतले शव जलाउन चाहिने रकम जुटाउन साथीभाइसँग गुहार माग्छन् । अनि आफूसँग भएको थपथाप गरी जलाउने बन्दोबस्त मिलाउँछन् । त्यतिले पनि पुगेन भने उनी कार्यरत संस्थाबाट पेस्की लिन्छन् । उपमहानगरपालिकासँग समन्वय गरी उनले बेवारिसे शव व्यवस्थापन गर्दै आएका छन् । शाखाका इन्जिनियर प्रदीप अमात्यले बस्नेतसँग शव जलाउन आवश्यक जनशक्ति र ज्ञान भएको बताए । बस्नेत यति मात्र नभई कतै लागूपदार्थको कुलतमा फसेका युवा भेटिए उनीहरूलाई जीवनको महत्त्व बुझाउँछन् । ३ वर्षअघि उनको परिचय मदिरा दुव्र्यसनीका रूपमा थियो । अहिले उनको परिचय बदलिएको छ– समाजसेवी । १८ वर्षदेखि उनी मदिरामा यसरी डुबे कि जीवन तहसनसह भएको उनलाई पत्तै भएन ।

अभिभावकको कर्तव्य बिर्संदै गए । मदिराका कारण उनले जीवनमा धेरै गुमाए । उनलाई सुधार्ने प्रयास असफल भएपछि छोरी लिएर माइत गएकी पत्नी अझै फर्किएकी छैनन् । धन्य साथीभाइले उनलाई बेलैमा पुन:स्थापना केन्द्रमा लगे । चोभारस्थित रिचमन्ड परामर्श केन्द्रमा ३ महिना बसेपछि उनको भित्री आँखा खुल्न थाले । यसबाट ब्युँझेपछि उनले बाँच्ने शैली बदले । ‘निभ्नै लागेको दियोमा तेल थपियो,’ उनी भन्छन् ।

त्यसयता उनी दु:खीका हात समाउन व्यस्त छन् । उनी अहिले केन्द्रमा कुलतमा फसेकालाई उकास्ने प्रयासमा पनि संलग्न छन् । उनको उद्देश्य अहिले कुलतमा फसेकालाई नयाँ जीवन दिनु बनेको छ । बेवारिसे शव ललितपुरमा मात्र नभई मुलुकभर छन् । यसलाई व्यवस्थापन गर्न उनी एक संस्था दर्ता गर्ने योजनामा छन् । उनलाई दीपक गौतम, सुप्रदीप्त न्यौपाने, सुमेश थापा, नरेश श्रेष्ठ, म्याक्स बस्नेत, रमेश खड्का, सरस्वती पौडेल र पविना लामाले साथ दिएका छन् । बस्नेतको बेवारिसे शवको व्यवस्थापनमा लाग्नुको रहस्य पनि बेग्लै छ । १२ वर्षअघि सवारी दुर्घटनमा मृत्यु भएका बुबा श्यामबहादुरलाई शिक्षण अस्पतालको शवगृहमा बेवारिसे शवको थुप्रोमा भेटाएका थिए । बुबासँगै अन्य बेवारिसे शव कुहिएको देख्दा उनको मन छट्पटियो । त्यतिबेलादेखि उनले बेवारिसे शवको व्यवस्थापन गर्ने प्रण गरेका थिए ।