ऐजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) पूर्व कार्यसमिति सदस्य थाइल्यान्डका वारावी मकुदी निर्वाचनमा गलत कागजपत्र पेश गरेको आरोपमा ५ वर्षका लागि फुटबलको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरि निलम्बित भएका छन्। फिफाको अनुशासन कमिटीले मंगलबार उनलाई पाँच वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गर्यो।

अनुशासन कमिटीको निर्णायक मण्डलले उनीविरूद्ध गलत र गैरकानुनी कागजपत्र पेश गरेको र अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएको थियो। उनीविरूद्ध १० हजार १ सय डलर पनि जरिवाना गरिएको छ। फिफा अध्यक्षका प्रत्यासी कतारका मोहम्मद बिन हमामसँग लामोसमय सँगै रहेका माकुदी १८ वर्ष एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमितिमा थिए।

उनलाई सन् २०१८ र २०२२ को विश्वकपका लागि पैसा खाएर भोट बेचेको आरोपमा गत वर्ष एएफसीको निर्वाचनमा भाग लिनबाट रोक लगाइएको थियो। उनीविरूद्ध निर्वाचनमा धाँधली गरेको आरोप त्यतिबेला लागेको थियो, जब उनी २०१३ मा पुनः थाइल्यान्ड फुटबल संघको अध्यक्षमा निर्वाचित भएका थिए। उनीविरूद्ध बैककको एक अदालतले पनि फुटबल संघको विधानअनुरुप निर्वाचन नगरि फर्जी कागज बनाएर निर्वाचन जितेको फैसला सुनाएको थियो।