काठमाडौ । बंगलादेशी नागरिक मोहमद बेलाल हुसेन कहिले र कुन प्रयोजनका लागि नेपाल आए, त्यसको आधिकारिक लेखाजोखा छैन । नेपाल आएपछि हुसेनले सर्लाही जिल्ला प्रशासनबाट नागरिकता लिए । त्यसैका आधारमा उनलाई राहदानी विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) दियो । राहदानी पाएपछि हुसेनले साउदी अरेबिया जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिए । हुसेन पुरानोबानेश्वरको पिजन म्यानपावर कम्पनीबाट साउदी पनि गए ।

विमानस्थल प्रवेश गर्ने बेलामा प्रहरीले राहदानी हेरेर सोधपुछ गर्छ । त्यसपछि अध्यागमनले प्रस्थान अनुमति दिन्छ । हुसेनले यी सबै प्रक्रिया पूरा गरे । साउदी अरेबिया पुगे । नेपाली भाषा पटक्कै नजान्ने हुसेनजस्ता व्यक्तिलाई नागरिकता लिनेदेखि अध्यागमन पार गरुन्जेलको प्रक्रिया कसरी सहज भयो, स्वाभाविक प्रश्न उठ्छ । उनी बंगलादेशी भएको अहिले खुल्न आएको छ । उनीसँग त्यहाँको राहदानीलगायत कुनै कागजपत्र छैन ।

झन्डै ४ वर्ष साउदी अरेबिया बसे हुसेन नेपाली नागरिककै हैसियतमा । हुसेन रोगजारी पूरा गरी साउदी अरेबियाबाट फर्कने क्रममा गत असोज ३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे ।

विमानस्थलस्थित अध्यागमन कार्यालयले हुसेनलाई राहदानी शंकास्पद भन्दै पक्राउ गर्‍यो । त्यसपछि धेरै रहस्य खुले । तर नेपाली राहदानी लिएर विदेशमा रोजगारी लिने पहिलो र एकमात्र व्यक्ति होइनन् हुसेन । यसले के स्पष्ट पार्छ भने काठमाडौंमा विदेशी नागरिकलाई नेपाली नागरिकता र राहदानी बनाइदिने गिरोह सक्रिय छ । पैसामा नागरिकता र राहदानीको किनबेच भइरहेको छ । फितलो अनुसन्धानले गर्दा त्यस्ता गिरोहका सदस्य भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

नेपाल आएपछि बंगाली नागरिक मोहमद बेलाल हुसेनले सर्लाहीबाट नागरिकता लिए । त्यसैका आधारमा उनलाई राहदानी विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) दियो । साउदी अरेबिया जान वैदेशिक रोजगार विभागबाट श्रम स्विृकति लिए ।

केही समयअघि मात्र तिब्बतका एक चिनियाँ नागरिकलाई एमआरपी निकालेर चीन उड्ने क्रममा विमानस्थल अध्यागमनले पक्राउ गरेको थियो । ती गिरोहले भूmटा विवरण पेस गरी नागरिकता बनाउने, त्यो सम्भव नभए अरूको नागरिकतामा फोटो परिवर्तन गर्ने गरेको अधिकारीहरू बताउँछन् । ती दलालले नागरिकता, राहदानी बनाइदिने र म्यानपावर व्यवसायीको सहयोगमा वैदेशिक रोजगार विभागबाट श्रम स्विकृतिसमेत लिने गरेका छन् ।

ती सबै कार्यालयमा दलालले पैसाको चलखेल गर्ने गरेको र पैसाको लोभमा कर्मचारीले सहजै काम गरिदिने स्रोतले बताएको छ । हुसेनले आफू बंगलादेशबाटै साउदी जान चाहे पनि दलालले नेपालबाट सजिलो हुने भन्दै नेपाल ल्याएको बयान दिएको स्रोतको दाबी छ ।

हाल हिरासतमा रहेका हुसेनबारे अध्यागमन विभागले छानबिन सुरु गरेको विभागका निर्देशक कृष्णबहादुर कार्कीले बताए । हुसेनले राहदानी विभागबाट २०६९ माघ २४ मा राहदानी लिएका थिए । काठमाडांैबाट राहदानी लिने बेला राहदानी विभागका अधिकारीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी आवेदकको नागरिकता प्रमाणित गर्ने नियम छ । हुसेन प्रकरणमा राहदानी विभागले सर्लाही जिल्ला प्रशासनमा उनको नागरिकता प्रमाणीकरण गर्‍यो÷गरेन, यकिन भएको छैन ।

राहदानीसहित सबै कागजपत्र बनेपछि हुसेन २०६९ फागुन २६ मा शनिबार वैदेशिक रोजगारीका लागि साउदी अरेबिया गए । केही समयअघि एक कुवेती र दुई इरानीले अवैध रूपमा नेपाली म्यानपावर कम्पनीबाट मान्छे पठाउने गरेको थाहा पाएपछि प्रहरीको स्पेसल ब्युरोले उनीहरूलाई पक्राउ गरी अध्यागमन विभागमा बुझाएको थियो ।
नागरिकता विवरणअनुसार हुसेन सर्लाहीको मधुवनगोठ गाविसका स्थायी बासिन्दा हुन् ।