बाजुरा । बाजुरामा खाद्यान्न अभाव भएपछि त्यहाँका एक व्यक्तीले हेलो सरकारमा फोन गरेर खाद्यान्न उपलब्ध गराउन माग गरेका छन् । बाजुरा गोत्तिका पक्तिमान दमाईले हेलो सरकारमा फोन गरेर यसपाली खेतीपाती राम्रो नभएकोले यहाँका जनतालाई खाद्यान्न छिटो उपलब्ध गराउन माग गरेका हुन । दमाईले असोज २२ गते यस्तो माग राखेका हुन ।

यो मागलाई हेलो सरकारले कृषि विकास मन्त्रालयलमा पठाइएको जनाएको छ । ‘हामीले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई यो समस्यावारे जानकारी गराइसकेका छौ अब कार्यालय खुलेपछि यसलाई फलो अप गर्छौ।’प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीले भने ।

दमाई लागयत बिभिन्न ९४ जनाले आफ्ना गुनासा दसैंभरि हेलो सरकारमा टिपाएका थिए । हेलो सरकारमा सवारी साधनले बढी भाडा लिएको बिद्यार्थी कार्डको छुट नदिएको टेलिकमको सेवा गतिलो नभएको लगायतका गुनासाहरु आएको सहसचिव रेग्मीले जानकारी दिए । भाडा बढी लिएका गुनासोहरुको सम्बोधन गरिएको,चाबहिलमा र गौरमा भाडा समेत फिर्ता गराइएको रेग्मीले बताए । बत्ती नआएको फोहर नउठाइएको गुनासो समेत हेलो सरकारमा परेको थियो ।

बिदेशबाट आउदा दसैंको बेलामा के लिएर आउने सुन कति लिएर आउन पाइन्छ भनेर समेत फोन आएको हेलो सरकारको कार्यालयले जनाएको छ । हेलो सरकारमा आएको गुनासोलाई सम्बोधन गर्न बिभिन्न मन्त्रालय र निकायमा अधिकृत देखि सहसचिव सम्मका कर्मचारीलाई सम्पर्क व्यक्ति तोकीएको थियो ।