विर्तामोड । झापाको विर्ताामोडको पञ्चकन्या अगाडि दुई बस जुध्दा ६५ यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमाको विर्तामोड खण्डमा बुधबार बिहान दुर्घटना भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जानकारी दिएको छ ।
बुधबार विहान काँकरभिट्टाबाट दमक जाँदै गरेको ना ५ ख ६५६१ नम्बरको बस विपरित दिशाबाट आएको ना ५ ख १८९८ नम्बरको बससँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परेकामध्ये ४ यात्रु र काँकरभिट्टाबाट दमक जाँदै गरेको बसका चालकको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।
गिरीका अनुसार अर्का बसका चालक इलाका प्रहरी कार्यालय विर्तामोडको सम्पर्कमा रहेका छन् । घाइते सबैको विर्तामोडका अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी प्रमुख गिरीले बताए ।
घाइतेमध्येका १६ जनाको विर्ता सिटी अस्पतालमा, ६ जनाको कञ्चनजंघा अस्पतालमा, १० जनाको मनमोहन अस्पतालमा र ३३ जनाको विएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जानकारी दिएको छ ।
झापाका इन्सपेक्टर जनार्दन घिमिरेका अनुसार तिब्र गतिका कारण दुई बस जुधेका हुन् ।