बाजुरा । बाजुरा जिल्लामा बालविवाह बढदै गएको एक तथ्याङ्क देखाएको छ । जिल्लाका १२ गाविसमा वालविवाहका बारेमा गरिएको सर्वेक्षणले जिल्लामा वालविवाह बढदै गएको देखाएको हो ।

गाविस, गाउँ वाल संरक्षण समिति, सेभ द चिल्ड्रेन र पीसवीन बाजुराको सहकार्यमा भएको सर्वेक्षणमा ७० प्रतिशत वालविवाह भएको देखिएको सेभ द चल्ड्रेनका बाजुरा जिल्ला कार्यक्रम अधिकृत बाले बिश्वकर्माले वताए  ।

१२ वटा गाविसमा २०७२ सालमा ५ सय ७३ जनाले गरेको विवाह मध्ये ४ सय २ जनाले उमेर नपुगी अर्थात वालविवाह गरेका तथ्याङ्क आएको विश्वकर्माले जानकारी दिए  । वालविवाह गर्नेमा केटीको संख्या धेरै  छ ।  उमेर नपुगी विवाह गर्ने बालिकाको संख्या २ सय २९ र वालक १ सय ७३ रहेको तथ्याङ्कले देखाएको छ ।

जिल्लाका वाई, जगन्नाथ, पाण्डुसेन, कोटिला, जुगाडा, बुढिगंगा, मनाकोट, गुदुखाती, बाह्रबिस, बह्रमतोला, तोली र छतारा गाविसमा तथ्याङ्क लिइएको थियो ।

सर्वेक्षण गरिएका गाविसमध्ये सबैभन्दा धेरै वालविाह हुने गाविस तोली रहेको छ । उक्त गाविसमा ०७२ सालमा ८१ जनाले विवाह गरेको र यी सवै वालविवाह रहेका छन् ।

त्यस्तै बुढीगंगा गाविसमा ७७ प्रतिशत र छतारा गाविसमा ५४ प्रतिशतले वालविवाह गरेको पाईएको पीसविन बाजुराका कार्यक्रम संयोजक राम बहादुर रावतले् वताए  । बिहे गर्ने अधिकांश माध्यामिक तहमा अध्ययन गर्ने रहेका छन् । ५ प्रतिशत वालवालिकामात्र निरक्षर रहेको र बाँकी सबै साक्षर रहेक अध्ययनले देखाएको छ ।

बिहे गरेपछि २२ प्रतिशतले विद्यालय समेत छोडीसकेको तथ्याङ्कमा उल्लेख  छ । सरकारले अहिले २० वर्ष मुनिको विवाहलाई वालविवाह मानेको छ । तर, सर्वेक्षणले बाजुरामा १२ वर्षकै उमेरमा बिहे गर्ने गरेको पाईएको छ ।

सबै भन्दा बढी १५ देखि १८ वर्षको उमेरमा बिहे गर्ने गरेको पाईएको छ ।  ६ देखि १० कक्षा अध्ययनका क्रममा धेरैको विवाह हुने गरेका पाइएको छ  ।घरपरिवारको दवाव, अरुको देखासिकी, परम्परागत मान्यता र मोवाइल फोनका कारणले समेत वालविवाह बढेको  बाले बिश्वकर्मा बताउँछन् ।

छतारा की १२ वर्षीया काजु विकले कक्षा ६ मा पढदै गर्दा बिहे गरिन् । उनका अभिभावकको समर्थनमा उनको बिहे भएको थियो । तोलीकी १३ वर्षीया शुशिला बिष्टले गएको फागुनमा भागी बिहे गरिन् ।  बिद्यालय पढ्दा पढ्दै भागेर बिहे गरेको उनका आफन्तले वताए  । गुदुखाती ४ बस्ने १५ वर्षीया भरत धामीले पनि घरको सल्लाहविना बिहे गरेको वताए  । सर्वेक्षणमा ९१ प्रतिशतले आफूखुशी बिहे गरेको देखिएको छ  भने ९ प्रतिशले अभिभावकको सहमतिमा बिहे गरेको राम बहादुर रावतले वताए  ।