मोरङ । घर अड्याउने सालका खम्बा सग्लै छन् । बिम बांगिएका छन् तर त्यसलाई फलामका किल्लाले अझैसम्म थेगेकै छन् । त्यही संरचनानजिकै पश्चितमतर्फ नुहिएको अर्को घर अहिल्यै ढल्लाजस्तो देखिन्छ ।

नुहिएको खरको छानो हावाको सानो झोक्काले पनि उडाउलाझैं लाग्छ । ढल्न लागेको यो घरलाई पनि बडेमानका सालका खम्बाले आड दिइएको छ । अलि मास्तिर खोलाले आधा भाग पुरेको घर देखिन्छ । त्यसको केही दक्षिणपट्टि खोलाभित्रै आधा जमिनमुन्तिरबाट तेस्रो घरको छानोले पुलुक्क चिहाएको छ ।

वरपर एकतले र भुइँघरका धेरै अवशेष खोलाको बालुवामा पुरिएका छन् । फलफूलका हिलाम्मे बोट, बस्तुभाउका खोर र मानिसले दैनिक जीवनमा प्रयोग गर्ने सरसामान जमिनमा आधा पुरिएको अवस्थामा छरपस्ट देखिन्छन् ।

यही बर्खामा बक्राहा बस्तीतर्फ पसेपछि मोरङको मधुमल्लास्थित धपर टोल खोलाभित्र भास्सिएको हो । धपरनजिकैको बेतनीका धेरै घर बाढीसँगै बगे । बचेखुचेका घर बालुवाको धापमुनि पुरिएका छन् । यो टोलमा अहिले मानिसको चहलपहल नभएर चुरेबाट हतारिँदै तल्तिर झर्दै गरेको बक्राहाको सुसेलीमात्र सुनिन्छ ।

‘बस्ती भएकै ठाउँबाट बक्राहा अहिले पनि एकतमासले पश्चिमतर्फ उर्लिएको छ’, स्थानीय खगेन्द्रकुमार मगरले भने, ‘गाउँलाई बक्राहाले निल्यो, उसले उखेलेर छाडिदिएका घरका अवशेषमात्र छन् जो तपाईं देख्दै हुनुहुन्छ ।’ मगरको पाँचवटा पोखरी र जग्गाजमिनसहित सर्वस्व यही बर्खामा आएको बक्राहाले बगाएको छ । मगर अर्कै टोलमा बसाइँ सरेका छन् ।

मोरङको मधुमल्लामा अघिल्लो वर्ष पूर्वपट्टिको बाँध फुटाएर गाउँतर्फ बगेको बक्राहा खोला यसपटक पश्चिमतर्फ हान्निएको हो ।

चुरे पर्वत शृंखलामुन्तिरको कमजोर बाँध मर्मत हुँदाहुँदै उर्लिएको बक्राहाले डेढ सय मिटरभन्दा धेरै भाग भत्काएर साबिकको धार छाड्दै बस्तीतर्फ पसेको छ । खोला धपर र बेतिनीतर्फ पस्दा ती टोल उजाड मरुभूमिमात्र बनेनन्, धेरै ठाउँमा बस्ती भएकै स्थानबाट अहिले पनि खोला बगेको छ । त्यहाँ बस्तीको नामोनिसान भेटिँदैन ।

मधुमल्लाभन्दा ५२ किलोमिटर दक्षिण पर्ने बरडंगावासी गाउँमा पुग्ने सरकारी कर्मचारीसमक्ष एउटै माग गर्छन्, ‘जेना होते हमर गाव बचा दिह अर्थात् जसरी हुन्छ हाम्रो गाउँ बचाइदिनुहोस् ।’ पाँच सय मिटरजति बाँध भत्काएको बक्राहाले यहाँ सयौं बिघा खेत कटान गरिसकेको छ । कतिपय किसानले भएको जायजेथा सबै गुमाएका छन् ।

जलाधार क्षेत्र मुन्तिरमात्र नभएर बक्राहाले यो बर्खामा तल्लो तटीय क्षेत्रमा गरेको विनाशको शृंखला अझ कहालीलाग्दो छ । यही विनाशको चपेटमा परेका हुन् भारत सीमावर्ती क्षेत्र बरडंगाका बासिन्दा पनि । बाँध निर्माण भएपछि करिब दुई दशक शान्त भएको बक्राहाले फेरि बितन्डा मच्चाउन सुरु गरेपछि मध्यवर्ती र तल्लो तटीय क्षेत्रका बासिन्दाको निद्रा हराएको छ ।

‘स्थायी र बलियो बाँध नबनाउने हो भने हामी यहाँबाट विस्थापित बन्नुपर्ने निश्चित छ’, बरडंगा २ का किसनलाल ठाकुरले भने, ‘बिघाका बिघा खेत कटान गर्दै खोला गाउँबस्तीतर्फ आउँदैछ । हामी न रातमा सुत्न सक्छौं न दिनमा चैन छ ।’ ठाकुरको दुई बिघा खेत भएको ठाउँमा अहिले बक्राहा बग्छ । पश्चितमतर्फ खोलाले अहिले पनि कटान गरिरहेको छ । खेत बक्राहाको भेलमा बग्ने क्रम रोकिएको छैन ।

त्यहाँ जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले गत वर्षजस्तै बाँसलाई बोरिङ गरेर खोलामा गाड्दै घेरा हालेर बनाइने पर्कुपाइन प्रविधिको बाँधसमेत निर्माण गरिरहेको छ । राजघाट, हसन्दहको जयनगर र गोविन्दपुरको कैमीमा पनि यस्तै प्रविधिको बाँध बनाउने काम भइरहेको छ । कार्यालयका प्रमुख डा. देवनारायण साह भन्छन्, ‘यो त अस्थायी रोकथाममात्र हो । स्थायी बाँध नबनाउने हो भने हामी गाउँ बचाउन सक्दैनौं ।

बक्राहामा स्थायी तटबन्ध निर्माण गर्न अब ढिला गर्नु हुन्न ।’ जल उत्पन्न प्रकोप डिभिजन कार्यालय विराटनगरका अनुसार बक्राहा यो बर्खामा मधुमल्ला र हसन्दहमा बाँध फुटाएर बस्तीतर्फ पसेको छ । बाढीबाट ठूलो धनजनको क्षति भएको छ । कार्यालयका प्रमुख साह भन्छन्, ‘जलाधार, मध्यवर्ती र तटीय क्षेत्रमा यो वर्ष पनि ठूलो क्षति भएको छ ।

आपत्कालीन रूपमा हामीले अस्थायी बाँध निर्माण गरेका छौं तर यतिमात्र पर्याप्त छैन । जोखिम घट्दोभन्दा पनि बढ्दो क्रममा छ ।’ बक्राहाको मध्यवर्ती क्षेत्रका रूपमा रहेको हसन्दह गाविसको जयनगरबाट खोला गाउँतर्फ पसेपछि त्यहाँ तीन सय ४० मिटरको अस्थायी बाँध निर्माण गरिएको छ । आपत्कालीन कार्यअन्तर्गत यो बर्खासँगै कार्यालयले करिब ४५ लाख रुपैयाँ खर्च गरेर माटोको बाँध र पर्कुपाइन बाँध, तारजाली, बोरा वितरणको काम गरेको छ ।

२२ वर्षअघि निर्माण भएको बक्राहा बाँधलाई नयाँ ढंगले पुनर्निर्माण नगर्ने हो भने एकातिर बनायो, अर्कोतिर भत्कने समस्या दोहोरिरहने जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगरका इन्जिनियर सरोक कार्की बताउँछन् । उनले भने, ‘उत्तरदेखि दक्षिणसम्म करिब ५३ किलोमिटर बक्राहा खोला बगेको क्षेत्रका धेरै स्थानमा बाँध निकै कमजोर भएको छ ।’

एउटा बाँधको आयु बढीमा पच्चीस वर्ष हुने भएकाले बक्राहामा पनि नयाँ संरचनासहितको बाँध बनाइनुपर्ने उनले बताए ।

साउन ७ गते हसन्दहबाट बक्राहा गाउँतर्फ पस्दा बाढीले डायनियाको हुलाकी मार्गमा बाटो बगायो । करिब ४ हजार हेक्टर जमिन बगरमा परिणत भयो । अहिले पनि किसानको खेतमा बालुवाको डंगुर थुप्रिएको छ । अमरदह सुगाबजारका हर्कबहादुर खड्का भन्छन्, ‘स्थायी तटबन्ध बनाउन ध्यान नदिने हो भने बक्राहाको विनाश हरेक वर्ष खप्नुपर्ने भयो ।’ हसन्दह र अन्य मध्यवर्ती क्षेत्रका दर्जनौं गाउँ बाढी र कटानको पूर्ण जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।