काठमाडौं । सशस्त्र द्वन्द्वताका गोरखा फुजेलमा भएको कृष्णप्रसाद अधिकारी हत्याका आरोपी छविलाल पौडेलमाथि कारबाही माग गर्दै उनकी आमा गंगामाया बिहीबारबाट अनसन बसेकी छिन्। प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित भएको भोलिपल्ट उनले पौडेललाई कानुनी कारबाही नभए अनसन बस्ने चेतावनी दिएकी थिइन्।
वीर अस्पतालमा पत्रकार सम्मेलन गरी गंगामाया अनसन बसेकी हुन्। सर्वोच्च अदालतले पौडेललाई हिरासतमा पुर्पक्षमा राखेर कारबाही गर्ने फैसला गरेको थियो। फैसला कार्यान्वयन गर्न अनुरोध गर्दै गंगामायाले प्रधानमन्त्री दाहाललाई अल्टिमेटम दिएकी थिइन्।
अल्टिमेटम बुधबार सकिएको थियो। उनका श्रीमान नन्दप्रसाद अधिरकारीको अनसनकै क्रममा वीरमा निधन भएको थियो। तरल पदार्थ खाएर छोराको हत्यामा संलग्नमाथि कानुनी लडाइँ लडिरहेकी गंगामायाको स्वास्थ्य अत्यन्तै कमजोर छ।
विसं २०७१ असोज ६ गते अनशन थालेको ३३४ दिन हुँदा उनका श्रीमान् नन्दप्रसादको अनशनरत अवस्थामा नै मृत्यु भएको थियो। उनको शव अहिले पनि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको छ। न्याय नपाएसम्म दाहसंस्कार नगर्ने गङ्गामायाले अडान राखेपछि नन्दप्रसादको शव अस्पतालमा नै राखिएको छ।
‘श्रीमान्को लास बाकसमा राखिएको छ’, गङ्गामायाले भने–‘सरकारले मरेको मान्छेको लाश कति दिनसम्म बाकसमा राख्नसक्छ? न्याय नदिने हो भने म पनि अब बाँच्नुको कुनै अर्थ नै छैन।’
जीवनमा कहिल्यै सिटामोल समेत खानुपर्ने अवस्था नआएको बताउने गङ्गामाया अहिले औषधि र पानीको भरमा मात्र जीन्दगी लम्ब्याउनुपर्दा निकै कष्ट भएको बताउछिन्।
उनले भनिन्–‘मलाई दिन र रात कटाउन गाह्रो भइसक्यो। घन्टा र मिनेटसमेत छुट्याउन सक्दिनँ।’ दुई वर्षअघि श्रीमान् बितेपछि एक्लो योद्धा झैँ अनशनरत गङ्गामाया अब आफूले कि न्याय प्राप्त गरेर सहज जीवनयापन गर्ने कि मरेर जाने अन्तिम निर्णयमा पुगेको बताउँछिन्।
उनले छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पशुराम पौडेललगायतलाई किटानी गरी चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको भए पनि हालसम्म उक्त मुद्दाको कुनै सुनुवाई भएको छैन । सर्वोच्च अदालतको आदेशमा आरोपी भीमसेन पौडेल र पशुराम पौडेललाई पक्राउ गर्नासाथ तत्कालीन (एमाओवादी) नेताको विरोध र धम्कीका कारण उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो ।
विसं २०६१ मा गङ्गामायाका १७ वर्षे छोरो कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको थियो। आफ्ना छोराको हत्या गर्नेविरुद्ध कारबाहीको माग गर्दै पाँच वर्षअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका अधिकारी दम्पतीले आफूहरुलाई सरकारले बेवास्ता गरेको भन्दै त्यहीँ अनशन सुरु गरेका थिए।
प्रहरी प्रशासनले अधिकारी दम्पतीलाई कमलपोखरी प्रहरी चौकीमा लगी ३९ दिन थुनेपछि उनीहरुले भोक हडताल सुरु गरेका थिए । भोक हडताल सुरु गरेपछि उनीहरुलाई जबर्जस्ती वीर अस्पतालको आकस्मिक कक्षमा राखेर अनशन तोडाउने प्रयत्न गरिए पनि त्यो सफल हुनसकेन। परिणाम २०७१ साल असोज ६ गते नन्दप्रसादको मृत्यु भयो ।