बैतडी । छात्रामा अज्ञात रोग देखिएपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविमा आजदेखि पठनपाठन नै बन्द गरिएको छ ।
विद्यालयमा कक्षा ८, ९ र १० अध्ययनरत छात्रा दिनहँु एकाएका बेहोस हुन थालेपछि विद्यालय नै बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समितिको आज बसेको आकस्मिक बैठकले आगामी सोमबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको स्थानीय बासिन्दा अभिभावक दिनेश सिंहले जानकारी दिएका छन ।
उनले भने “आज पनि एक्कासि १० जना छात्रा बेहोस भएका थिए ।”
विद्यालयमा आउने बित्तिकै छात्रा बेहोस हुने र त्यसपछि चिच्याउने गरेको बताइएको छ । मङ्गलबारदेखि लगातार छात्रामा देखिएको समस्याका कारण आजसम्म ३० भन्दा बढी छात्रा बिरामी भएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिंहले बताएका छन ।
बिरामी भएका छात्रा बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन् उनले भने “विद्यालयमा बिरामी भएका छात्रालाई अभिभावक बोलाएर उनीहरुको जिम्मा लगाइएको छ ।”
छात्रामा अनौठो रोग देखिएपछि विद्यालय नै बन्द गरिएको हो । यसरी छात्रा अनौठो रोगले बेहोस हुने समस्या देखिए पनि कारण भने पत्ता लाग्न सकेको छैन् । रासस