दोलखा । जिल्लामा परिवार नियोजनको साधनको प्रयोगदर बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्कले देखाएको छ ।
दोलखा जिल्लामा आर्थिक वर्ष ०७२/ ०७३ मा परिवार नियोजनको साधन प्रयोग गर्नेहरूको संख्या विगतको तुलनामा दोब्बर बढेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । तिव्र गतिमा बढ्दै गएको जनसंख्यालाई व्यवस्थापन गर्न जिल्ला स्वास्थ्य कार्यालय दोलखाले परिवार नियोजन, आमा सुरक्षा र जनसंख्या लगायतका कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
सरकारको नीति अनुसार परिवार नियोजनको अस्थायी तथा स्थायी साधनको निःशुल्क वितरण हुने भएकोले पनि यसको प्रयोगदर बढेको कार्यालयले जनाएको छ । तथ्याङ्क अनुसार परिवार नियोजनको साधन प्रयोग गर्नेमा पुरुषको तुलनामा महिला बढी रहेको देखिएको छ ।