चिकित्सकको लापरवाहीले दाङमा एकजना युवाको मृत्यु भएपछि अस्पतालले मृतकका परिवारलाई क्षतिपूर्ति वापत १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

एपेन्डिसाइडको अप्रेसनपछि घोराही–६ गिठेपानीका २६ वर्षीय रामवहादुर रोकाको मृत्युपछि उनका परिवारले  चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै शब बुझ्न नमानेपछि घोराहीस्थित गोर्खा पब्लिक हस्पिटल प्रालिमा सोमवार दिनभर जसो तनाव भएको थियो।

अस्पतालको  लापरवाहीले अप्रेसनपछि रोकाको मृत्यु भएपछि आफन्तले क्षतिपूर्तिको माग गर्दै शव बुझ्न मानेका थिएनन्। दाङ जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहका अनुसार सहमति अनुसार क्रिया खर्च वापत एक लाख तत्काल उपलब्ध गराइएको छ भने बाँकी ९ लाख रुपैयाँ केही समयपछि प्रदान गर्ने सहमतिपछि मृतकका आफन्तले शव बुझेका थिए।

एसपी सिंहले मृतक रोकाकी छोरीलाई उच्च शिक्षासम्म पढाउनका लागि लाग्ने सम्पूर्ण खर्च समेत अस्पतालले नै ब्यहोर्ने सहमति भएको जानकारी दिए।

उनका अनुसार मृतक रोकाको आइतबार वेलुकी साढे ६ बजेतिर गोर्खा हस्पिटलमा एपेन्डिसाइडको अप्रेसन भएको थियो। तर, अप्रेसनको ५ घन्टापछि राति पौने १२ बजेतिर रोकाको हस्पिटलमै मृत्यु भएको थियो। एसपी सिंहका अनुसार चिकित्सकको  लापरवाहीले गर्दा रोकाको  मृत्यु भएको भन्दै आफन्तले विरोध गरेपछि हस्पिटल प्रशासनसंग भएको वार्तामा पीडित परिवारलाई १० लाख उपलब्ध गराउने सहमति भएको थियो।