नुवाकोट ।  चीनको केरुङ नाकाबाट रसुवागढी हुँदै नेपाल भित्रिएको अवैध सुनसहित पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले कारवाहीको लागि सोमवार राजश्व अनुसन्धान विभाग काठमाडौं पठाइएको छ ।
केरुङ–रसुवागढी हुँदै टिमुरे गाविस पुगेको अवस्थामा ६ किलो अवैध सुनसहित तीन युवकलाई सीमा सुरक्षा चौकी टिमुरेले पक्राउ गरेको थियो ।
तीन करोड रुपैयाँ बराबरको ६ किलो सुनसहित आइतबार पक्राउ परेका रसुवाको टिमुरे गाविस–५ का २५ वर्षीय कुमसाङ तामाङलाई जिल्ला प्रशासन कार्यालय रसुवाले कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाएको हो ।
तामाङले अवैधरुपमा पेट, छातीलगायतका स्थानमा प्लाष्टिकले टाँसेर सुन नेपालतर्फ भित्र्याएको अवस्थामा टिमुरेमा रहेको संयुक्त सुरक्षा चौकी नियन्त्रणमा लिइएको थियो ।
विनाशकारी भूकम्प र पहिरोपछि नेपाल–चीन प्रवेशको पहिलो ठूलो तातोपानी नाका बन्द भएपछि काठमाडौंदेखि एक सय ५१ किलामिटर दुरीमा रहेको रसुवागढी नाकाबाट तस्करको चलखेल सुरु भएको छ ।
सुनलगायत विभिन्न सामग्रीको तस्करी रोक्न रसुवाको टिमुरेमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सक्रिय भएसँगै अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको हो ।