काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी मनिषा घर्तीको हत्या भएको छ। बुधबार राति नवलपरासी बर्दघाट नगरपालिका ८ भानुनगर घरमा उनको हत्या भएको हो।

घटनास्थलमा प्रहरी पुगेको छ। शव यथावत अवस्थामै रहेको र प्रहरी टोलीले अनुसन्धान सुरू गरेको छिमेकी श्रेष्ठले बताए।

एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि हत्याको पुष्टि गरेका छन्। उनलाई एन्फा नवलपरासीका अध्यक्ष प्रकाश पंगेनीले हत्याको खबर गरेका थिए। ‘विमल घर्तीकी ममी बुधबार बुटवल गएको र घरमा एक्लै भएको बेला मनिषाको हत्या भएको खबर पाएँ,’ प्रकाश पंगेनीको भनाई उद्धृत गर्दै श्रेष्ठले भने, ‘प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताए।’

प्रहरीले हत्या अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ। उनीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घरमा आमा र मनिषा बस्दै आएका थिए। उक्त रात आमा घरमा नभएका कारण मनिषा एक्लै थिइन्। १७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन्।